समाज

कटुवा पेस्ताेलसहित तीन पक्राउ

सुनसरी - कोशी गाउँपालिका ८ स्थित चारकुने इलाकाबाट एक जना कटुवा पेस्ताेलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको सुपोल भिमनगर गाउपंचायत ४ घर बताउने २३ वर्षीय रन्जितकुमार मुखिया रहेका छन्। उनलार्इ सशस्त्र प्रहरी टाेली नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको टाेलीले नियन्त्रणमा लिएकाे हाे।

बीआर ५० एफ ३२०६ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका निज मुखियालाई जाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल र एक थान म्यागजिन फेला पारेकाे हाे।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट खटिएको एपीएफ टोलीले शनिबारै सुनसरी जिल्लाको कोशी गाउँपालिका ६ स्थित धत्ता टोलबाट एउटा कटुवा पेस्ताेलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सुपोल घर बताउने १८ वर्षीय विवेक यादव र सुमितकुमार गोइत छन्। भारतबाट अनटेष्ट लेखिएको मोटरसाकलमा नेपालतर्फ आउँदै गरेका निजहरुलाई जाँच गर्दा उनीहरुको साथमा उक्त कटुवा पेस्तोल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो।

प्रकाशित: १ मंसिर २०७५ १२:२७ शनिबार

पेस्ताेल