समाज

सडक सञ्जालमा जोडियो दुनै

फाइल तस्बिर

काठमाडौं – नेपाली सेनाको एक दशक लामो प्रयासले हिमाल पारिको जिल्ला डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको छ। जाजरकोटको पासागाढबाट सुरु भई डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर खण्डको सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको हो। 

एकसय १८ किलोमिटर लामो उक्त सडकको सुपानीबाट दुनैतर्फको खण्ड १४ किलोमिटर सडक भने स्थानीय निकाय र संसाद कोषको खर्चमा यसअघि नै ट्र्याक खोलिएको थियो। छिमेकी मुलुक चीन र भारतलाई सडक सञ्जालमार्फत जोड्ने उत्तर दक्षिणको सामरिक महत्व बोकेको उक्त राजमार्गले तिब्बतस्थित मरिम्ला र भारतको रुपेडियाबीच सिधा सम्पर्क जोड्न योगदान दिनेछ। 

प्रदेश नं–६ अन्तर्गतको प्राकृतिक विविधताले परिपूर्ण तथा भूगोलका हिसाबले मुलुककै सबैभन्दा ठूलो डोल्पा जिल्लामा सडक सञ्जाल विस्तार भएसँगै कर्णाली क्षेत्रको विकासमा कायपलट हुने विश्वास गरिएको छ।

जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी फिडर रोडको अवधारणाअनुरुप निर्माण भएको नेपाली सेनाले जानकारी दिएको छ। उक्त सडकको निर्माणले बाह्रैमहिना चिसो हावापानी रहने ठूला हिमाली घाँसे मैदानसमेत रहेको डोल्पामा उत्पादन हुने बहुमूल्य जडीबुटीले आवश्यक बजार र उचित मूल्य पाउने विश्वास गरिएको छ।

जाजरकोट–डोल्पा सडकको ट्र्याक खेलेपछि सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम भएपनि स्थानीय जनताले सडक थप विस्तार र सुधारको जिम्मा नेपाली सेनालाई नै दिनुपर्ने माग गर्दै आएका छन्।

 उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उक्त सडक आगामी मङ्गलबार डोल्पाको त्रिपुरासुन्दरीमा उद्घाटन गर्नेे कार्यक्रम रहेको सडक आयोजना कार्यदल प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए। सडक भेरी नदीको किनारै किनार दर्जनौं अक्कर र भिर, पहरा छिचोल्दै तथा रिम्ना, मनमाइतहरा, तल्लो बजार, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्दे बस्ती र बजार हुँदै दुनै पुग्नेछ। 

सेनाले यसअघि मुलुकमा १ हजार ११४ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको जनाएको छ। सेनाले अहिले निर्माण गरिरहेका ठूलो सडक आयोजनामा बेनीघाट–आरुघाट– लार्केभञ्ज्याङ (१२० किमी), कालीगण्डकी करिडोर (७६ किमी) र कर्णाली करिडोर १४५ किमी रहेको छ।

जाजरकोट–डोल्पा सडक निर्माणसँगै राष्ट्रिय सडक सञ्जालमा नेपाली सेनाको योगदान १०३ किमी थपिएको छ। सरकारले मुलुकका जिल्ला सदरमुकाममा सडक सञ्जाल पुर्‍याउने नीतिअनुरुप हुम्लाबाहेक ७६ जिल्लामा मोटर बाटोको पहुँच पुगेको छ। डोल्पामा सडकको पहुँच पुगेसँगै शे–फोक्सुण्डो ताललगायतका क्षेत्रमा पर्यटन विस्तारमा ठूलो योगदान पुग्नेछ। रासस

प्रकाशित: १ मंसिर २०७५ १२:३६ शनिबार

सडक_सञ्जाल नेपाली_सेना दुनै