समाज

दश बालबालिकाको उद्धार

बाजुरा– खाने बस्ने व्यवस्था सहित पढाई दिने आश्वासन दिएर अवैध रुपमा जिल्ला बाहिर लैजान लागेका १० बालबालिकाको उद्धार गरिएको छ। आवश्यक कागजात विनै राम्रो विद्यालयमा पढाई दिने आश्वासन दिएर काठमाडौं लैजान लागिएका १० जना बालबालिकाको उद्धार गरिएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

अति विपन्न समुदायका बालबालिकालाई अभिभावकको मौखिक सहमति बनाएर लिन लागेको खबरका आधारमा आवश्यक जाँचबुझ गरेर घर फिर्ता गरिएको भाटको भनाई छ। बालबालिकालाई बुढीनन्दा नगरपालिका–३ का वीर बहादुर ल्हारले काठमाडौं लैजाने क्रममा प्रहरीले फेला पारेको थियो। 

प्रहरीले घरबाट मार्तडी पुर्याएर पाणी होटलमा राखिएको अवस्थामा बालबालिकालाई जाँचबुझ गरेको थियो। उनीहरुसँग अभिभावकको मञ्जुरी, जिल्ला बाल कल्याण समितिको अनुमति र लिने संस्थाको आधिकारी कागज पत्र कुनै नभेटिएपछि फिर्ता पठाएको प्रहरी नायव उपरीक्षक भाटले बताए।

लिने व्यक्तिसँग कुरा गर्दा अभिभावकले लिन मौखिक सहमति दिएपनि अन्य कुनै कागजात नभएकोले शंकाको आधारमा चेकजाँच गरिएको थियो। घरेलु कामदारका रुपमा बालबालिकालाई राख्न नपाउने कानुनी प्रावधान रहेको छ।

प्रहरीले अभिभावकलाई नै बोलाएर बालबालिकालाई जिम्मा लगाएको छ। पठन पाठन गराउन नसक्ने परिवारको उद्धारका लागि आफूले काम गर्न खोजेको र परिवारको सहमतिमै लिन लागेको वीरबहादुर ल्हारको भनाई छ।

विकले सबैको विद्यालयबाट प्रमाण पत्र र वडाको सिफारिस बनाएर काठमाडौं लैजान खोजेको बुझिएको छ। पढाइदिने भनेपछि ठूलो आशका साथ जिम्मा लगाउने खोजेको अभिभावकको भनाई छ। कागज पत्र विनै अवैध बाटोबाट काठमाडौं लैजान खोजिएको थाह पाएपछि दलित अधिकार कर्मी गोरख विकले प्रहरीलाई जानकारी गराएका थिए। 

अभिभावकै जिम्मा लगाइदिने गरी बालबालिको जिम्मा पनि अधिकारकर्मी सार्कीले नै लिएका छन्। अधिकांश बालबालिका दलित समुदायकै छन्। उनीहरुलाई काठमाडौं जानेसम्मको भाडा समेत अभिभावकबाटै असुल गरिएको बुझिएको छ। पछिल्लो समय जिल्लाबाट राम्रो विद्यालयमा पढाइदिने आश्वासनका साथ अवैध रुपमा बालबालिकालाई घरेलु कामदारका रुपमा लिनेक्रम बढेको छ। 

प्रकाशित: ३० कार्तिक २०७५ १४:३८ शुक्रबार

बालबालिका उद्धार