समाज

टुहुरा बालबालिकालार्इ डा. भुसालको अार्थिक सहयाेग

खोटाङ - बाबुआमाको मृत्यु भएपछि बिचल्लीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ७ बालबच्चालाई आर्थिक सहयोग प्राप्त भएको छ। करेन्ट लाग्दा गत साउन १८ गते ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका चन्द्र किरात र अनिच्छुक गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रुटीका कारण २०७३ साल भदौ १९ गते जिल्ला अस्पतालमा ज्यान गुमाएकी तलकुमारी राईका ५ छोरी र २ छोरालाई जाईका एलमनाई एसोसियसन अफ नेपाल (जान) का प्रेसिडेन्ट डा. रामचन्द्र भुसालले ५० हजार सहयोग गरेका हुन्।

गत कात्तिक २७ गते नागरिक दैनिकमा प्रकाशित ‘१६ वर्षको उमेरमा ६ भाईबहिनीको अभिभावक’ शिर्षक समाचारका आधारमा डा. भुसालले टुहुराटुहुरी बालबच्चालाई सहयोग रकम पठाएका हुन्। नेपाल रिपब्लिक मिडियामार्फत खोटाङ सम्बाददाता दमन राईको खातामा जम्मा भएको रकम शुक्रबार जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले राई परिवारकी जेठी छोरी बुङाटुङ चामलीङलाई हस्तान्तरण गरेका छन्। बाबुआमा गुमाएपछि बिचल्लीमा परेका टुहुरा बालबच्चाको लालनपालन एबं उच्च शिक्षा अध्ययनका लागि डा. भुसालले सहयोग रकम प्रदान गरेका हुन्। 

यसअघि हङकङ, मलेसिया र साउदीअरबमा रहेका शुभेच्छुकबाट पनि आर्थिक सहयोग प्राप्त भएको थियो। केही समयअघि हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर राईले आफ्नो पारिश्रमिकबाट २० हजार १ सय २० रुपैयाँ उनीहरुलार्इ प्रदान गरिसकेकी छन्। यस्तै, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलीङले पनि आफ्नो असोज महिनाको २० दिनको पारिश्रमिक बराबर २० हजार सहयोग गरेका थिए। जिसस प्रमुख चाम्लिङले बाबु आमाको मृत्यु भएपछि अभिभावकबिहिन बनेका बालबालिकामध्ये एक जनाको अभिभावकत्व ग्रहण गर्ने समेत घोषणा गरेका छन्। 

 

प्रकाशित: ३० कार्तिक २०७५ ०९:२५ शुक्रबार

आर्थिक_सहयोग खोटाङ