समाज

बस्तीमा पस्न थाले गैँडा, स्थानीय त्रसित

चितवन– चितवन राष्ट्रिय निकुञ्जका एक सिङ्गे गैँडा नजिकका बस्तीसँगै शहरी क्षेत्रमासमेत पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ। नियमितजसो गैँडा बस्ती आउन थालेपछि स्थानीय त्रसित बनेका छन्।

निकुञ्जमा गैँडाको सङ्ख्या बढेसँगै वासस्थानको समस्याले बस्तीमा पस्नथालेको अनुमान छ । जिल्लाको प्रमुख शहर नारायणगढ बजारको बेलचोक र बाह्रघरे क्षेत्रमा नियमितजसो रातको समयमा गैँडा आउन थालेका छन्।

निकुञ्जभित्र आवश्यकताअनुसार घाँसे मैदान व्यवस्थापन हुन नसक्नु, घाँसे मैदानलाई माइकेनिया नामको अतिक्रमित झारले ढाक्नु, दलदल र पानीका स्रोत कम हुँदै जानुले गैँडा मानव बस्तीमा पसेका हुन्।

स्थानीय पत्रकार रमेशकुमार पौडेलका अनुसार तिहारको केही दिन पटका पड्कँदा गैँडा नदेखिए पनि अन्य समयमा राति र बिहान गैँडा आउने गर्दछन। घेरै जसो एउटा बच्चा र दुई ठूला गैँडा देखिने गरेको उनले बताए।

सो क्षेत्रमा लगाइएको आलु, धानजस्ता बाली खान गैँडा आउने गरे हुन्। जसका कारण बिहान सबेरै र राति अबेर हिँड्डुल गर्नेलाई समस्या भएको छ। तीन वर्षयता नजिकैका क्षेत्रमा गैँडाकै आक्रमणबाट दुईको मृत्यु भइसकेको छ।

 सौराहा क्षेत्रमा पनि गैँडा नियमित शहरी क्षेत्रमा पस्ने गरेको छ। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले तीनवटा गैँडा नियमित सो क्षेत्रमा आउने गरेको बताए। पर्यटकीय हिसाबले यो राम्रो नभएको भन्दै उनले निकुञ्जले बासस्थानको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले नारायणगढ क्षेत्र, नवलपुर क्षेत्रसहित निकुञ्जका पश्चिमी क्षेत्रमा यस्तो समस्या देखिएको बताए। निकुञ्जभित्र आवश्यकताअनुसार घाँसे मैदान व्यवस्थापन हुन नसक्नु, घाँसे मैदानलाई माइकेनिया नामको अतिक्रमित झारले ढाक्नु, दलदल र पानीका स्रोत कम हुँदै जानुले गैँडा मानव बस्तीमा पसेको उनको ठम्याइ छ। 

बस्ती र निकुञ्ज एवं मध्यवर्ती क्षेत्रमा आवातजावत गर्न रोक्ने गरी बार लगाउन सके यो समस्या कम हुने उनले बताए। यससँगै निकुञ्जभित्र गैँडाको बासस्थान व्यवस्थापनमा विशेष सुधार गर्नुपर्ने उनको भनाइ छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएको र पूर्वमा कम भएका कारण पश्चिमी क्षेत्रमा बढी समस्या देखिएको छ। 

पश्चिमका गैँडा पूर्वमा स्थानान्तरण गर्ने तयारीमा पनि निकुञ्ज लागेको छ। निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल घाँसे मैदानको व्यवस्थापनको अभावमा गैँडा बस्ती पसेको बताउछन्।

आहारा र बासस्थान निकुञ्जभित्र राम्रो नभएसम्म यो समस्या आइरहने उनले बताए। हालै मात्र नवलपुरको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा गैँडा आएर तीन मानिसलाई घाइते बनाएको, सवारीसाधन तोडफोड गरेको थियो। बस्ती क्षेत्रमा गैँडा आउन थालेपछि स्थानीय मात्रै नभएर गैँडा पनि जोखिममा परेको संरक्षणकर्मीहरू बताउँछन् । चार वर्ष पहिलेको गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन्। रासस 

प्रकाशित: २९ कार्तिक २०७५ ०८:४७ बिहीबार

चितवन_राष्ट्रिय_निकुञ्ज एक_सिङ्गे_गैँडा