समाज

हाजिर गरेर टाप कस्छन् महानगरका कर्मचारी

काठमाडौं - काठमाडौं महानगरपालिकाका कर्मचारी कार्यालयमा हाजिर गरेर टाप कस्ने (हाटा) गरेको पाइएको छ। सेवाग्राहीले कर्मचारी कुर्सीमा नभेटिएको गुनासो गरेपछि महानगरपालिका प्रशासनले छड्के अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो।

हाटा कस्नेमा अधिकृतदेखि सहायकस्तरका कर्मचारी छन् । ‘हामीले आइतबार दिउँसो छड्के अनुगमन गरेका थियौं,’ महानगरका सहसचिव टोकराज पाण्डेले भने, ‘बिहान हाजिर गरेकामध्ये झन्डै २५ प्रतिशत कर्मचारी दिउँसो कुर्सीमा भेटिएनन् ।’ उनका अनुसार विभिन्न विभाग, सचिवालय, महाशाखा, शाखा, एकाइ र आयोजनामा अनुगमन गरिएको थियो । आइतबार बिहान ३ सय २२ जना कर्मचारीले हाजिर गरेको तर दिउँसो ३ बजे अनुगमन गर्दा हाजिर गरेका मध्ये ६९ जना कर्मचारी कुर्सीमा भेटिएनन् । पाण्डेका अनुसार २४ जना अधिकृतस्तरका कर्मचारी कार्यालय समय नपुगीकन भागेको पाइयो । हाटा कस्नेमा मिडिया शाखाका कर्मचारी बढी थिए । मिडिया शाखा (मेट्रो एफएम) का १४ कर्मचारी हाजिर गरेर भागेको पाइयो।

छड्के अनुगमन गर्दा बिहान हाजिर गरेका ३२२ कर्मचारीमध्ये दिउँसो ३ नबज्दै एक चौथाइजति भागेको पाइयो । कर्मचारी हाजिर गरेर टाप कस्दा सेवा प्रवाहमा बाधा पुगेको छ।

महानगरपालिकाको सेवा प्रवाह छिटोछरितो, सेवाग्रहीमैत्री र प्रभावकारी बनाउन कर्मचारीको छड्के अनुगमन गरिएको प्रशासन विभाग प्रमुख तथा प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । ‘कतिपय काम कर्मचारीको कारणले ढिलोसुस्ती हुने गरेको पाइयो,’ उनले भने, ‘अनुसन्धान गर्दा हाजिर गरेर भाग्ने प्रवृत्ति प्रमुख कारण भएको पाइयो। त्यसैले छड्के अनुगमन गरेका हौं ।’ उनका अनुसार महानगरपालिकाले महिनामा दुईतीन पटक छड्के अनुमगन गरेर कर्मचारीलाई जिम्मेवार बनाउन थालेको छ।

छड्केमा कुर्सीमा नभेटिएका कर्मचारीलाई कारबाही गरिने कार्कीले बताए । ‘अनुगमन गर्दा कुर्सी–टेबुलमा नभेटिएका कर्मचारीलाई कारबाहीसमेत गर्छाैं,’ उनले भने, ‘आइतबारबाटै कारबाहीको थालनी गरिसकेका छौं ।’ पहिलो चरणमा महानगरपालिकाको सेवा सर्तसम्बन्धी विनियमावली २०६१ अनुसार कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको उनले बताए। स्पष्टीकरण आएपछि विनियमावलीअनुसार कारबाही गरिनेछ । विनियमावलीमा हाजिर गरेर भाग्ने कर्मचारीलाई विभागीय कारवाही गर्न पाइन्छ । बढुवा रोकुवा, तलव वृद्धि रोकुवाको कारवाही गर्न पाउने प्रावधान छ । स्पष्र्टीकरण चित्तबुझ्दो नभए भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाटै पनि हटाउन सक्ने प्रावधान विनियमावलीमा छ।

महानगरपालिकाका १३ वटा विभाग छन् । विभागअन्तर्गत महाशाखा, शाखा, एकाइ र आयोजना छन्। महानगरपालिकामा विभाग, महाशाखा, शाखा, एकाइ, आयोजना र ३२ वटै वडामा गरी २२ सय कर्मचारीको दरबन्दी छ । तर, अहिले १७ सय ८१ कर्मचारी मात्र कार्यरत छन् । तीमध्ये सबैभन्दा बढी सफाइका छन् । सरसफाइमा ११ सयभन्दा बढी कर्मचारी छन् । त्यस्ते नगर प्रहरी २ सय हारहारी छन्।

प्रकाशित: २९ कार्तिक २०७५ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App