समाज

घुस माग्ने मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। 
जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग रु. ५०–५० हजार घुस लिएको अवस्थामा पक्राउ परेका अभियुक्तत्रयलाई बिगो रु ५० हजार कायम गरी जरिवाना र कैद सजाय हुन मागदावी लिइ आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। 
यसैगरी आयोगले महानगरीय प्रहरी वृत्त, बौद्ध, काठमाडौंका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईविरुद्ध पनि रु. एक लाख चालीस हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय माग गर्दै सोही अदालतमा मुद्दा दायर गरेको छ। 
अभियुक्त राईलाई सेवाग्राहीसँग सोनी कम्पनीको टेलिभिजन सेट खरिद गर्न घुसबापत रु एक लाख चालीस हजार लिएको अवस्थामा आयोगको टोलीले केही दिनअघि रङ्गेहात पक्राउ गरेको थियो। रासस

 

प्रकाशित: २८ कार्तिक २०७५ ११:५३ बुधबार

कर्मचारी कर्मचारी मालपोत