समाज

अग्निपीडितलाई राहत जुट्ने क्रम जारी

खोटाङ – खोटाङ दिक्तेलका अग्निपीडितलाई राहत जुट्ने क्रम जारी छ । कात्तिक २३ गते बिहान भएको आगलागीमा सर्वस्व गुमाएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका कृष्णकुमार श्रेष्ठ, जानुका बुढाथोकी र बुढाथोकीको घरमा कपडा पसल र होटल सञ्चालन गर्दै आएका रमेश खत्रीलाई दिक्तेल बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेको हो।

कृष्णकुमार र जानुकालाई जनही १० हजार तथा खत्रीलाई पाँच हजार रुपैयाँ सहयोग गरिएको दिक्तेल क्याम्पसले जनाएको छ । आगलागीबाट बिचल्चीमा परेका पीडितलाई थारै भए पनि राहत होस् भनेर सहयोग गरिएको क्याम्पसका लेखापाल चूडाबहादुर कार्कीले बताए । सोमबार रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रमा कार्यक्रम गरेर दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद रिजाल, सहायक क्याम्पस प्रमुख, प्राध्यापकले अग्निपीडितलाई राहत रकम प्रदान गरेका हुन्।

अग्निपीडित छात्र–छात्रालाई शैक्षिक सामग्री

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयको जुनियर रेडक्रस सर्कलले दिक्तेल रत्नपार्कका अग्निपीडित छात्र–छात्रालाई शैक्षिक सामग्री प्रदान गरेको छ । आगलागीमा परेर सबै थोक गुमाएका दिक्तेल रत्नपार्कका एल्बिसा दाहाल, रितेश श्रेष्ठ र एल्जन दाहाललाई शैक्षिक सामग्री प्रदान गरिएको हो।

जुनियर रेडक्रस सर्कलले विद्यालयमा सहयोग संकलन गरेर १० हजार रुपैयाँ बराबरको झोला र शैक्षिक सामग्री प्रदान गरेको शिक्षक नायक शिवबहादुर थापाले बताए । बुढाथोकीको घरबाट सुरु भएको आगोले श्रेष्ठ र बुढाथोकीको घर पूरै र तीन घर आंशिक जलेको थियो।

प्रकाशित: २८ कार्तिक २०७५ ०३:०१ बुधबार

अग्निपीडित राहत