समाज

बिपी प्रतिष्ठानमा आइसियु पाउनै मुस्किल

दुर्घटनामा परी गम्भीर घाइते १० वर्षीय प्रज्वल चौधरी र उनका बुबा आइतबार राति बिपी प्रतिष्ठानको आकस्मिक कक्षमा । तस्बिर : रोहित/नागरिक

धरान – पिकनिक खाएर फर्कंदै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर उदयपुरको बेलका नगरपालिका–८ मा आइतबार दुर्घटना हुँदा त्यसमा सवार १० वर्षीय प्रज्वल चौधरी पनि गम्भीर घाइते भए । उनीसहित ३५ जना घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइयो।

घाइतेहरू साँझ ५ बजेर ५० मिनेटमा अस्पताल आइपुगेको प्रतिष्ठानस्थित प्रहरी बिटको रेडर्कमा उल्लेख छ । घाइते प्रज्वल छटपटिँदै थिए । घाइते ३५ जनामध्ये तीन जनाको ज्यान गइसकेको थियो भने ३२ जनाको उपचारमा प्रतिष्ठानको जनशक्ति खटिएको थियो । गम्भीर घाइते प्रज्वलको अनुहार र टाउकोमा रगत जमेको थियो।

उपचारमा संलग्न डाक्टरले प्रज्वलका साथमा रहेका मामा, माइजू र बुबा धर्मेन्द्रलाई तत्काल अपरेसन गर्नुपर्ने र आइसियु पनि चाहिने जानकारी गराए । योसँगै डाक्टरले प्रतिष्ठानको आइसियु खाली नभएकाले ‘अन्यत्र छिटो लैजान’ पनि भने । गम्भीर घाइते प्रज्वल घरिघरि छटपटिन्थे । छोराको यो अवस्था देखेर आत्तिएका धर्मेन्द्रलाई आइसियुको व्यवस्था गर्ने अर्को आपत् आइलाग्यो।

छोरालाई बचाउन कहाँ लैजाने, आइसियुका लागि कसलाई भन्ने भनेर उनले प्रतिष्ठानको आकस्मिक कक्षमा निक्कै दौडधुप गरे । यसैमा उनको समय बितिरहेको थियो । ‘एउटा भए नि यहीं मिलाइदिनु न,’ डाक्टरसँग उनको अनुनय हुन्थ्यो । तर, डाक्टरबाट उही जवाफ आउँथ्यो, ‘यहाँ एउटा पनि आइसियु खाली छैन, छिटो बाहिर लगिहाल्नुस्।’

भेन्टिलेटर सहितको आइसियु अभावमा आइतबार राति प्रतिष्ठानको आकस्मिक कक्षबाट अन्यत्र रिफर हुने घाइते बालक प्रज्वल मात्रै थिएनन् । सोही दुर्घटनामा परी गम्भीर घाइते भएकी ६ वर्षीया बेबिका चौधरी, ११ वर्षीया विपाशा चौधरी र १५ वर्षीया प्रतीक्षा चौधरी पनि थिए । उनीहरूका अभिभावकहरूको छटपटी पनि प्रज्वलका बुबाको झैं थियो । करिब साँझ ६ बजे आइपुगेका उनीहरू आइसियु नपाएपछि राति ९ बजेतिर विराटनगरको निजी अस्पताल जान बाध्य भए । ‘यहाँको आइसियु खाली नभएपछि चार जना राति ९ बजेतिर यहाँबाट रिफर भएर गएका छन्,’ आकस्मिक कक्षस्थित प्रहरी पोस्टका इञ्चार्ज एवं प्रहरी नायब निरीक्षक तिलक गिरीले भने।

जटिल प्रकृतिका बिरामी एवं घाइतेहरूलाई अपरेसनपश्चात् भेन्टिलेटर सहितको आइसियु बेड आवश्यक पर्छ । तर प्रतिष्ठानमा आइसियु बेड कम भएकाले धेरैजसो बिरामी रिफर हुन्छन्।

पूर्वका सबै जिल्लाबाट बिरामी रिफर भई आउने स्वास्थ्य संस्था हो– बिपी प्रतिष्ठान । यहाँ सामान्य बिरामीदेखि जलिट तथा गम्भीर प्रकृतिका बिरामीहरू सहज, सुलभ उपचार सेवा पाउने आसामा आउँछन् । जटिल प्रकृतिका बिरामी एवं घाइतेहरूलाई अपरेसनपश्चात् भेन्टिलेटर सहितको आइसियु बेड आवश्यक पर्छ । तर, प्रतिष्ठानमा न्यून संख्यामा आइसियु बेड भएकाले धेरैजसो बिरामी रिफर हुन्छन् । रिफर गरिएका बिरामीहरू निजी अस्पतालमा महँगो शुल्कमा उपचार गराउन बाध्य हुन्छन्।

‘आइसियु कक्ष, इमर्जेन्सी कक्ष विस्तार नभएर अति नै समस्या भइरहेको छ, बिरामीहरूलाई भनेजस्तो उपचार सेवा दिन गाह्रो भएकोे छ,’ आकस्मिक कक्षका इञ्चार्ज डा. ज्ञानेन्द्र मल्ल भन्छन्, ‘अत्यन्तै दुःखका साथ भन्नुपर्छ– बिपीबाट बिरामी रिफर गर्नु परिरहेको छ, सिकिस्त बिरामीहरूको ज्यानलाई झनै जोखिम बनाइरहेको हुन्छ।’

डा.मल्लका अनुसार आइसियु अभावमा बिपी प्रतिष्ठानबाट रिफर गरिएका अधिकतर बिरामी विराटनगरका निजी अस्पतालहरूमा जान्छन् । आइसियु चाहिने बिरामीको अवस्था त्यसै पनि नाजुक हुन्छ । एम्बुलेन्समा लैजान समय लाग्छ । एम्बुलेन्समा बिरामीसँग स्वास्थ्यकर्मी पनि हुँदैन । बिपीमा राख्दा पनि ज्यान जोखिम हुने र रिफर गरेर पठाउँदा पनि बाटोमा ज्यान जाने खतरा उस्तै हुन्छ । ‘हाम्रो पनि बाध्यता छ, यहाँ पनि राखिराख्न सक्दैनौं । हिजै दुर्घटनाका घाइतेहरू रिफर गर्नुपर्यो।

एकैपटक ३०÷३२ जना आउँदा म्यानेज गर्यौं, तर न्युरो सर्जन बोलाउँदा आइसियु चाहिन्छ भने,’ डा.मल्लले जोड दिँदै भने, ‘हामीलाई आज होइन, अहिल्यै, यतिबेलै आइसियु बेड, इमर्जेन्सी विस्तार चाहिन्छ । पर्खनुस्, केही समय लाग्छ, निर्णय गर्नुपर्छ भन्ने शब्द सुन्ने समय नै छैन ।’ आइसियु बेडकै अभावमा पहिले मिति तोकिएका बिरामीहरूको अपरेसन रद्द गर्नुपर्ने अवस्था पनि रहेको प्रतिष्ठानस्थित भूपू विद्यार्थी संघका अध्यक्ष एवं एसोसिएट प्रोफेसर डा. विष्णु पोखरेलले बताए । ‘कति बिरामीलाई अपरेसन गरेपछि आइसियु चाहिन सक्छ, तर आइसियु खाली नभएपछि अपरेसन क्यान्सिल गर्छाैं बिरामीका आफन्त हामीसँग रिसाउँछन्, झगडा नै गर्छन्,’ उनले भने।

अस्पताल प्रशासनका अनुसार प्रतिष्ठानमा सेन्ट्रल आइसियुमा एउटा डिलक्ससहित ८ बेड छन् भने एमआइसियु ४ बेड, एनआइसियु ६ बेड, सर्जिकल आइसियु ५ बेड र मेडिकल आइसियु ४ बेडका छन् । भएका आइसियुमा पनि कति भेन्टिलेटर बेला–बेला बिग्रिएका हुन्छन् । बिपीको आइसियु संख्या स्वास्थ्य मन्त्रालयको निर्देशिकाले तोकेको भन्दा ज्यादै कम बेड हो भने यहाँको आवश्यकताअनुसार पनि अति न्यून हो । निर्देशिकाअनुसार अस्पतालको कुल बेड संख्याको १० प्रतिशत आइसियु हुनुपर्छ । बिपी प्रतिष्ठानमा कुल ७ सय ६३ बेड छ । यस हिसाबले ७६ वटा भेन्टिलेटरसहित आइसियु बेड बिपीमा हुनुपर्छ । ‘आइसियु बेडको अभाव छ । हाम्रो आवश्यकता र निर्देशिकाले भनेअनुसार पनि कम भएकै हो, तर हामीले यसको विस्तारको योजना मन्त्रालयमा पेस गरिसकेका छौं’ प्रतिष्ठानका डेपुटी निर्देशक डा.पप्पु रिजालले भने, ‘एउटा आइसियु बेड थप्न ६०–७० लाख खर्च हुन्छ । त्यसैले यसमा मन्त्रालय, संघीय सरकारको विशेष बजेट आवश्यक पर्छ।’

प्रतिष्ठानले गत वर्ष नै २० बेड क्षमताको आइसियु विस्तार गर्ने प्रस्ताव मन्त्रालयमा पठाएको थियो । त्यो प्रक्रिया अझै पूरा भएको छैन । प्रतिष्ठानका पदाधिकारी बीचको बेमेल र आपसी स्वार्थ, सरकार र उपकुलपति बीचको द्वन्द्वले पनि प्रतिष्ठानको समग्र सेवा, विस्तार एवं लक्ष्यमा गम्भीर धक्का पुगिरहेको छ । पछिल्लो समय स्वास्थ्य मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । जसमा प्रतिष्ठानकै रजिस्ट्रार तुलबहादुर श्रेष्ठ र रेक्टर डा. गुरु खनाल सदस्य छन् । उपकुलपति डा. राजकुमार रौनियारलाई हटाउने उद्देश्यले समिति गठन गरिएको आरोप लगाउने गरिएको छ । ‘पदाधिकारीको आपसी द्वन्द्व र खेल अनि सरकारको पनि स्वार्थले बिपी आफ्नो लक्ष्यमा हिँड्न सकिरहेको छैन, थला पर्दै गएको छ,’ एक कर्मचारी भन्छन्।

प्रकाशित: २७ कार्तिक २०७५ ०४:५२ मंगलबार

बिपी_प्रतिष्ठान आइसियु