समाज

विज्ञान समूहका विद्यार्थीले गणित पढ्न पाउने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी साउनदेखि कार्यान्वयन गर्न तयार पारेको राष्ट्रिय पाठ्यक्रम प्रारुपलाई परिमार्जन गरी कक्षा ११ र १२ का विज्ञान समूहका विद्यार्थीका लागि गणित अध्ययन गर्ने बाटो खुला पारेको छ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले नयाँ पाठ्यक्रम संरचनाअनुसार कक्षा ११ र १२ का विज्ञान समूहका जुनसुकै विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरुले कक्षा ११ र १२ मा गरी सय–सय पूर्णाङ्कको अनिवार्य गणित विषय अध्ययन गर्ने गरी प्रारुप परिमार्जन गरिएको बताए । यस अघिको व्यवस्थाले कक्षा ११ र १२ का जीवविज्ञान समूहका विद्यार्थीका लागि गणित विषय अध्ययनमा अंकुश लगाएर यसको साटो जीवनोपयोगी शिक्षा अध्ययनको व्यवस्था गरेको थियो । यस व्यवस्थाको चौतर्फी विरोध भएपछि पाठ्यक्रम विकास केन्द्रले निर्णय सच्चाएको हो।

परिमार्जित पाठ्यक्रम प्रारुपमा कक्षा ११ र १२ का विज्ञान समूहका विद्यार्थीले नेपाली, अंग्रेजी, समाजिक शिक्षा, जीवनोपयोगी शिक्षा ÷गणित अनिवार्य विषयको रुपमा अध्ययन गर्न पाइने नयाँ व्यवस्था गरिएको छ भने ऐच्छिक विषय जीवविज्ञान, भौतिक शास्त्र र रसायन शास्त्र गरी कुल सात विषय अध्ययन गर्नुपर्नेछ । ‘जीवविज्ञानका विद्यार्थीका लागि पनि अनिवार्य गणितको व्यवस्था गरिएको छ,’ कार्यकारी निर्देशक पौडेलले नागरिकसँग भने, ‘जसकारण अब यो समूहका विद्यार्थीहरुका लागि पनि उच्च शिक्षा हासिल गर्न बाटो फराकिलो भएको छ । अब डक्टरी मात्र पढनु पर्ने बाध्यता हटाइएको छ ।’ उनले थपे, ‘अगामी शैक्षिक सत्रदेखि जीवविज्ञानका विद्यार्थीले डक्टरी र इन्जिनियरिङका विषयमा समेत अध्ययन गर्ने बाटो फराकिलो भएको छ।’

त्रिविका गणितका विज्ञहरुले भने केन्द्रले विज्ञानका विद्यार्थीका लागि गणित अध्ययनका लागि बाटो खुलाए पनि व्यवस्थापन र मानविकी संकायका लागि भने गणितमै अंकुश लगाएकोमा विरोध जनाएका छन् । त्रिवि केन्द्रीय गणित विभागका उप–प्राध्यापक तथा नेपाल गणित समाजका सहसचिव जीवन काफ्लेले प्रारुपमा विज्ञान समूहका सबै विद्यार्थीका लागि अनिवार्य गणित अध्ययन गर्ने बाटो खुला गरे पनि जीवविज्ञान, भौतिकशास्त्र र रसायनशास्त्र विद्यार्थीले मात्र जीवनोपयोगि वा गणितमध्ये जुनसुकै अनिवार्य विषय अध्ययन गर्ने व्यवस्थाले मानविकी र व्यवस्थापन संकायको विद्यार्थीलाई गणित अध्ययनमा अंकुश लगाएकोमा आपत्ति जनाए।

विगतमा कक्षा ११ र १२ का व्यवस्थापन समूहका विद्यार्थीले पाँच विषय अध्ययन गर्ने गरेकोमा हाल सात विषय बनाइएको छ । ‘पहिले कक्षा ११ मा अंग्रेजी र नेपाली अनिवार्य तीन विषय ऐच्छिक थिए । कक्षा १२ मा अंग्रेजी अनिवार्य र चार विषय ऐच्छिक थिए । जसमध्ये विद्यार्थीले दुई वटा गणित र दुई व्यवस्थापनका आधारभूत विषय अध्ययन गर्थे,’ काफ्ले भने, ‘तर हाल व्यवस्थापन र मानविकीका विद्यार्थीले सात विषय पढ्ने व्यवस्था छ । जसमा चार अनिवार्य र तीन मात्र ऐच्छिक छन् ।’ उनले थपे, ‘नयाँ व्यवस्था अनुसार विद्यार्थीले कि त दुई वटा गणित पढ्नु प¥यो र एक कोर विषय कि त गणित छाडेर कोर विषय पढेर गणित छाड्नु पर्यो।’

प्रकाशित: २७ कार्तिक २०७५ ०४:५० मंगलबार

विज्ञान गणित बाटो_खुला