समाज

'स्पिड आरोही' को कीर्तिमान लाक्पा गेलु कै कायम

काठमाडौं - सबै भन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्ने 'स्पिड' आरोहीको कीर्तिमान लाक्पा गेलु शेर्पाकै आधिकारिक भएको छ। यस अघि गलत प्रमाणबाट कीर्तिमानी कायम गरेका आरोही पेम्बा दोर्जी शेर्पाको सर्वोच्च अदालत हुँदै पर्यटन विभागले पनि गलत रहेको प्रमाणित गरेपछि लाक्पा गेलुको नाममा स्पिड आरोहीको कीर्तिमान कायम भएको हो।

पर्यटन विभागले हालै सूचना जारी गर्दै १४ वर्ष अघि लाक्पा गेलुको कीर्तिमानलाई ब्रेक गरेको दाबी गर्दै पेम्बा दोर्जीले लिएको स्पिड आरोहीको प्रमाणपत्र रद्द भएको जानकारी गराएको छ। विभागले पेम्बा दोर्जीको नामको प्रमाणपत्र रद्द गर्दै लाक्पा गेलुकै कीर्तिमानलाई सदर गरेको छ।

लाक्पा गेलुले सन् २००३ मे २५ का दिन १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमा सगरमाथाको आरोहण गरी स्पिड आरोहीको कीर्तिमान कायम गरेका थिए। पछिल्लो वर्ष सन् २००४ मे २१ मा पेम्बा दोर्जीले भने ८ घण्टा १० मिनेटमा आधार शिविरबाट सगरमाथाको चुचुरो पुगेर आधार शिविर फर्केको दावी गर्दै विभागबाट स्पिड आरोहीको प्रमाणपत्र लिएका थिए।

फर्जी कागजपत्र बनाएको थाहा पाएपछि त्यस अघि स्पिड आरोहीको कीर्तिमान कायम गरेका लाक्पा सहितका आरोहीले सर्वोच्च अदालतमा उजुरी दिए। सर्वोच्चले अघिल्लो वर्ष मुद्दाको फैसला गर्दै कीर्तिमान खारेज गर्न आदेश दिएपछि यही कार्तिक दोस्रो साता विभागले पेम्बाको प्रमाणपत्र खारेज गरेर लाक्पाकै सदरलाई नै कायम गराएको छ।

लाक्पा गेलुका अनुसार फर्जी कागजपत्र बनाउन विभाग समेतले सहयोग गरेर पेम्बालाई स्पिड आरोहीको प्रमाणपत्र दिलाइएको थियो। त्यही जानकारी पाएर सर्वोच्च अदालतमा आफुले उजुरी हालेको उनले बताए। न्यायाधीश चोलेन्द्र शमशेर जवरा र डम्बर बहादुर शाहीको संयुक्त इजलासले पेम्बाको आरोहणले कीर्तिमान पाउन नसक्ने फैसला गरेका थिए। सोही फैसलापछि पर्यटन विभागले पनि सूचना जारी गर्दै लाक्पा गेलुकै नाममा कीर्तिमान कायम गराएको छ। विभागका शाखा अधिकृत तिलक प्रसाद रिजालले हस्तक्षर गरेर लाक्पा गेलुलाई उनकै नाममा कीर्तिमान भएको जानकारी गराइएको छ।

प्रकाशित: २४ कार्तिक २०७५ ११:०० शनिबार

सगरमाथा स्पिड_आरोही