ब्याडमिन्टनकी चर्चित खेलाडी हुन् सरादेवी तामाङ। राष्ट्रिय त भै गयो अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्दै पदक दिलाएकी उनी अहिले ब्याट र ककबाट टाढिइसकेकी छिन्। तर उनका २ चेलाको प्रभाव उस्तै छ ब्याडमिन्टनमा । एक हुन् नङसलदेवी र अर्का रत्नजित।
संयोग नङसल उनकी बहिनी हुन् रत्नजित भाइ। राष्ट्रिय टोलीमा रहेका यी दुवैका लागि सरा दिदी मात्रै हैन गुरुआमा पनि हुन्। उनकै प्रेरणाले यी दुवै ब्याडमिन्टन समातेर कोर्टमा ओर्लिएका थिए।
२०६० सालदेखि राष्ट्रिय टोलीमा रहेकी सराले १२ औं दक्षिण एसियाली खेलकुदपश्चात् ब्याडमिन्टनबाट खेलाडीको रुपमा बिदा लिइसकेकी छिन्। हाल उनी नेपाली सेनाको क्याप्टेन छिन् । तर ब्याडमिन्टन कोर्टमा सराको अनुपस्थितिको दिदी–भाइले पूर्ति गरिरहेका छन्।
तिहार यी तिनैका लागि विशेष हुने नै भयो। रत्नजितका लागि थप विशेष। पूर्व खेलाडी गुरुआमा अनि उनीसँगै राष्ट्रिय टोलीमा रहेकी दिदी नङसलदेवीको हातबाट सप्तरङ्गी टीकासँगै आशीर्वाद र खेल कौशलसमेत पाउँछन् उनले।
र्याकेट र ककलाई साथी बनाउँदै ब्याडमिन्टन करियरमा मार्ग कोरेका यी जोडीले सन् २०१६ मा भएको पाकिस्तान अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मिक्स डबल्समा च्याम्पियन भएर देशलाई सफलता दिलाएका थिए। नङसलले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा महिला एकलमा र महिला टिमबाट नेपाललाई कास्य पदक जित्दै आफूलाई सफल अन्तर्राष्ट्रिय खेलाडीको रुपमा प्रमाणित गरेकी छिन्।
२०६३ देखि नेपालको जर्सी पहिरिँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चुनौती प्रस्तुत गर्दैै आइरहेका छन्।
अधिकांश राष्ट्रिय प्रतियोगिताहरुमा यी जोडीले उपाधिमा वर्चश्व कायम राख्दै आएका छन्। एकल उपाधिमा यी तामाङ दिदी–भाइ भरसक उपाधि फुत्काउँदैनन्।
विभागीय क्लब त्रिभुवन आर्मीमा व्यावसायिकता जमाइरहेका दिदी–भाइ तिहारअघिसम्म आफ्नो अभ्यासमा देश विदेशमा सक्रिय हुँदै आइरहेका छन्। तर तिहारले उनीहरुलाई एकै थलोमा जुटाउनेछ।0
२०५२ सालदेखि उनीहरुको परिवारमा टीका लगाउँदैनन्। ०५२ मा हजूरआमाको निधन भएपछि बुबाले दसैंमा टीका लगाउन छोडेसँगै उनीरहरुको दसैं त्यति उत्साहजनक हुँदैन रे। त्यसैले तिहार उनका लागि विशेष हुने गरेको छ।
‘दसैं नमनाउने भएकाले हाम्रा लागि तिहार विशेष हुन्छ,’ सराले भनिन्, ‘टीकाको दिनमा हामी सबै एकै ठाउँमा जम्मा हुन्छौं, रमाइलो हुन्छ।’
दुई दिदीका एक्ला भाइ रत्न अहिले वैदेशिक प्रशिक्षणका लागि जापानमा छन् । उनी टीकाको दिन नेपाल फर्कनेछन् ।
‘देउसी भैलो भने अरू खेलेको हेरेर रमाइलो गर्ने हो,’ सराले भनिन्, ‘यसपटक हामी काठमाडौंको बुढानीलकण्ठमा बसेर टीका लगाउनेछौँ । फूपू र ठूलो बुबाको दाजुभाइ आउँदैछन् ।’
तर उनका अभिभावक भने पुख्र्यौली घर भोजपुरमा तिहार मनाउँदैेछन् । ‘ठूलो फूपू र मामा भोजपुरमै हुनुहुन्छ, त्यसैले आमा र बुबा गाउँमै तिहार मनाउनु हुन्छ,’ सराले भनिन्, ‘टीकाको दिन भाइ आउने भएकाले त्यस दिनदेखि मात्र हामीलाई तिहारको रौनक सुरु हुन्छ।’
झिलिमिली बत्तीले विशेष बनाउने तिहार पहिले र अहिलेमा फरक रहेको सराले बताइन्। ‘सानो हुँदा हामीले पटका पड्काउने गरे पनि अहिलेको अवस्था फरक भएको छ,’ सराले थपिन्, ‘झिलिमिली बत्तीमा हामी खुब रमाउने गर्दथ्यौं, अहिले भने बत्तीको उत्तिको रौनकता भने छैन । तर नरमाउने भने होइन।’ (शुक्रबारबाट साभार)
प्रकाशित: २३ कार्तिक २०७५ ०२:५१ शुक्रबार