समाज

मर्मत पछि दुर्घटनाग्रस्त तारा एयरको जहाज काठमाडाैं लाग्याे

दुर्घटनाग्रस्त तारा एयरको जहाज उडान भर्न रनवेतर्फ जाँदै। तस्बिर : डिबी /नागरिक

जुम्ला - गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर सन्तुलन गुमाउदा दुर्घटना भएको तारा एयरको जहाज आवश्यक मर्मत पछि विहिबार काठमाडाैंका लागि उडेको छ। तारा एयरलाईन्सको ९ एन एईभी कलसाईन भएको जहाज दुर्घटना भएपछि जुम्ला विमानस्थल छेउमा पार्किङ गरेर राखिएको थियो। जुम्ला विमानस्थलका प्रमुख कैलाश शर्माले विमानस्थलको रनवेमा परिक्षण गरेपछि काठमाडाैंका लागि जहाज उडेको बताए।

जहाजलाई क्याप्टन प्रभाकर घिमिरे र अर्का क्याप्टन आईआर जोशीले उडाएका हुन्। जहाज मर्मतका लागि एक महिना देखि क्यानडा, स्विट्जरल्याण्डका प्राविधिक जुम्लामै थिए। विमानस्थल प्रमुख शर्माले भने,“जहाज उडाउनु भन्दा जहाजको अवस्थाका वारेमा परिक्षण भएको थियो, ईन्जीनियर र क्याप्टेनको टोलीले जहाज उडाउन योग्य देखेपछि विहानै काठमाडाैंका लागि उडान गरिएको हो। ”

गत जेठ २६ गते क्याप्टेन जेके निरौला र कोपाईलट हिम्मत रोकायाले उडाएको जहाज जुम्ला विमानस्थलमा अवतरण गराउँदा टायर पञ्चर भएपछि दुर्घटनामा परेको थियो।  दुर्घटना पछि लामो समय सम्म जुम्ला विमानस्थलमा थन्किएको तारा एयरको जहाजको परिक्षण उडान हेर्न सयौं जूम्लाबासी विमानस्थलमा भेला भएका थिए। तारा एयरको दुर्घटनाग्रस्त जहाज उडेपछि विमानस्थलको स्तराेन्नती कार्य नियमित रुपमा अघि बढ्ने जुम्ला विमानस्थलले जानकारी दिएको छ। 

 

प्रकाशित: २२ कार्तिक २०७५ ०७:०६ बिहीबार

जुम्ला_विमानस्थल तारा_एयर