भादगाउँ - मध्यपुरथिमि–१ स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा आगलागी हुँदा रु ११ लाख बराबरको सामान क्षति भएको हो।
लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी भएको सानोथिमि स्थित महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताए। “सोही घरको भुई तलामा किराना पसल सञ्चालन गर्दै आउनुभएका ढुङ्गेलले लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला अचानक विद्युत् सर्ट भई आगलागी भएको हो”, उनले भने।
आगलागीबाट करीब १० तोला सुन, नगद रु पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थान लगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए। करीब ७ बजेर ४५ मिनेटमा लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासले करीब ९ बजे निभाइएकोे थियो। रासस
प्रकाशित: २२ कार्तिक २०७५ ०२:५४ बिहीबार