समाज

तिहारमा मौलिक पहिरन रोज्दै बालिकाहरु

जाजरकोट - चाडपर्वमा विदेशी र आधुनिक संस्कार भित्रिदै गएको चिन्ता वढेका वेला जाजरकोट खलंगाका बालिकाहरु भने तिहारमा मौलिक पहिरन रोज्न थालेका छन्। तिहारका समयमा खेलिने देउसी भैलो र अन्य नाचगानमा उनीहरु नेपाली पहिचान र मौलिकता झल्किने परिहनमा सजिएर गाउँ, घर डुल्दै देउसी भैलो खेलेर हिड्न थालेका हुन्।

पहिरन, गीतसंगीत, नाँच र अन्य गतिविधिहरुमा विदेशी प्रभाव परेर नेपाली मौलिकता हराउदै गएका वेला  जाजरकोटको भेरी नगरपालिका ३ ठाँटीवजारका बालिकाहरु भने नेपाली गुन्युचाेली र पटुकीमा सजिएर  देउसी भैलीमा व्यस्त भइरहेका छन्। भेरी नगरपालिका ३ ठाँटी बजारकी बालिका दिया रोकायले तिहारमा नेपाली पहिचान झल्काउने वाहेक अन्य पोषाक र पहिरनमा हिँडे नसुहाउने भएकोले गुन्युचोली र पटुकीमा आफुहरुले भैली खेल्ने गरेको वताइन्। 'नेपालीहरुले नेपाली बनेरै चाड मनाउनुपर्छ अनि पो मजा आउछ  नि', रोकायले भनिन्। 'चाडपर्व नेपालको गाउँमा मनाउने अनि चलन र पारा विदेशी र अरुको देखाउने?' उनले थपिन्।

दिया जस्तै  सोहि ठाउँकी अर्की बालिका पवित्रा थापाले पनि नेपाली गुन्यु चोलीमा भैली खेल्दै नाच्दा गाउँदा निकै रमाइलो लाग्ने गरेको वताइन्। 'हामी सधैंका तिहारहरुमा गुन्युचोली र पटुकी लगाएर भैली खेल्छौं',उनले भनिन्, 'हामीलाइ नेपाली पहिरन वाहेक अरु पोषाकमा भैली खेल्न अप्ठेरो लाग्छ।' 

गाउँ भरिका सवै बालिकाहरुले एकै प्रकारको पहिरन बनाएर भैली खेल्ने गरेको र उनीहरुको भैली र पहिरन अन्य भैली समुहको तुलनामा  फरक देखिएको स्थानीय दुर्गावहादुर श्रेष्ठले वताए। तिहार आउनुभन्दा एक दुइ महिना अघि नै यी बालिकाहरुले भैलीका लागि नेपाली पोषाकको तयारी गरिदिन आफना अभिभावकहरुलार्इ तताउने गरेको उनले बताए। तिहारका वेला झ्याली मादल, मुरली र कुटकुटी लगाएतका मौलिक वाजाहरु वज्न छोडेपनि यी बालिकाहरुको पहिरनले  गाउँमा केहि मात्रामा मौलिकता देखिन सहयोग पुगेको उनले वताए। युवा पुस्ताका मान्छेहरुले आफनो संस्कृति र पहिरनलाइ वेवास्ता गरेका कारण चाडपर्वमा विकृति मौलाउदै गएको वुढापाकाहरुको गुनासो  छ।

जिल्ला सदरमुकामका छिमेकी गाउँहरु र रुकुम र सल्यान लगायतका वाहिरी ठाउँवाट सिंगारु, टप्पा, वनगारी, झाउरे, ख्याली, पैसेरी देउडा लगायतका नाच र गीतका साथ  भैली खेलिने चलन अहिले देख्न मुस्किल भइसकेको स्थानीय जेष्ठ नागरिक मानवहादुर सिंहले वताए। पुरानो पुस्ताका मानिसहरुले युवा पुस्तालाइ सुम्पेको कला, संस्कृति र मौलिक पहिचान छोटै समयमा हराउन पुगेको सिंहले दुखेसाे व्यक्त गरे। उनले नयाँ पुस्ताले पुरानो पुस्तावाट पाएको मौलिक कला र संस्कृति भुलेका कारण हाम्रो पहिचान संकटमा परेको भन्दै चिन्ता व्यक्त गरे। स्थानीय सरकार, सरोकारवाला र युवा पुस्ताले आफनो कला, संस्कृति र मौलिकता संरक्षणको अभियान तिव्र रुपमा सुरु गर्न जरुरी रहेको वुढापाकाहरु बताउछन्। 

 

तिहार मौलिक_पहिरन