समाज

भरतपुरमा गणेशधाम बनाउने तयारी

भरतपुरस्थित गणेशस्थान मन्दिर। तस्बिरः सविता/नागरिक

चितवन - भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित गणेशस्थान मन्दिर क्षेत्रलाई गणेश धामका रूपमा विकास गर्ने तयारी थालिएको छ । गणेशस्थान संरक्षण सम्वद्र्धन समितिले मन्दिर क्षेत्रलाई धाम बनाउने तयारी थालेको हो । मन्दिर क्षेत्र विस्तार गरी धाम बनाउन लागिएको समितिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । मन्दिर अहिले २.४३ हेक्टर क्षेत्रफलमा छ । धाम निर्माण गर्न थप ३० हेक्टर क्षेत्रफल विस्तार गरेर पूर्वाधार निर्माण गरिने उनले बताए । ‘गणेशस्थान क्षेत्र विकासका लागि डिपिआर बनाउने काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘प्रारम्भिक अध्ययनअनुसार ८० करोड रुपैयाँ लागतमा गणेश धाम तयार गरिनेछ।’

महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलमध्ये एक गणेशस्थानमा रहेको पौराणिक इनार पाल्पाका राजा मणिमुकुन्द सेनको पालामा बनेको विश्वास गरिन्छ । वि.सं २०१४ मा रूखमुनि फेला पारिएको गणेशको अर्धकद मूर्ति स्थापना गरेर मन्दिर निर्माण गरिएको बताइन्छ । मन्दिर परिसरमा सरस्वती, मनकामना, सन्तोषी, विश्वकर्मा लगायतका मन्दिर पनि छन्।

धामका रूपमा विकास गर्दा ३० फिट अग्लो गणेश मूर्ति बनाइने अध्यक्ष चुकेले बताए । साथै जल विनायक, शिव–पार्वती, कुमारको मूर्तिसमेत बनाउने गरी डिपिआर निर्माण भइरहेको उनले जानकारी दिए । यसैगरी धाम क्षेत्रमा व्यवस्थित पार्किङ, पिकनिक स्पट, बोटानिकल गार्डेन, धर्मशालालगायत निर्माण गरिने उनको भनाइ छ । अहिले रहेका योग कक्षा तथा धार्मिक कार्यक्रम सञ्चालन गर्न हल पनि निर्माण गरिने गणेशस्थान संरक्षण सम्वद्र्धन समितिले जनाएको छ।

गणेशस्थानदेखि देवघाटको दूरी पाँच किलोमिटर छ । धामका रूपमा विकास गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने अध्यक्ष चुकेको भनाइ छ । मन्दिर परिसर आडैमा पुंगी खोला छ । ऐतिहासिक महत्वको गणेशस्थान पछाडिका वन क्षेत्रलाई समेटेर धाम बनाउँदा धार्मिक क्रियाकलाप मात्र नभइ जिल्लाकै पर्यटक स्थल बन्ने चितवनका प्रदेश सांसद विजय सुवेदी बताउँछन् । मन्दिर क्षेत्र विस्तार गर्न नजिकै रहेका नवजागृति र जलदेवी सामुदायिक वनका उपभोक्ता समूहसँग सहमति भइसकेको उनले जानकारी दिए।

विस्तार हुने क्षेत्रमध्ये २५ बिघामा तलाउ बनाइने योजना रहेको उनले बताए । पुंगी खोलाको पानी ड्याम बाँधेर पनि तलाउ बनाउन सकिने उनले सुनाए । तलाउ वरपर हिँड्न र साइकल चलाउन मिल्ने बाटो बनाइने सांसद सुवेदीले बताए । गणेशस्थानलाई धाम बनाउन प्रदेश सरकारले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्दिर समितिले मंसिरमा धनधान्याचल ज्ञान महायज्ञ सञ्चालन गर्दैछ । मंसिर २२ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिने यज्ञबाट २० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । केन्द्रीय तथा प्रदेश सरकार, स्थानीय तह, संघ, संस्था तथा व्यक्तिगत सहयोग संकलन गरी पाँच वर्षभित्र धाम निर्माण गरिसक्ने लक्ष्य छ।

प्रकाशित: २१ कार्तिक २०७५ ०४:१५ बुधबार

गणेशधाम भरतपुर_महानगरपालिका