समाज

मधेसकाे माैलिक तिहार

धनगढीमाई नगरपालिकाको मसहरनियामा फुसको घर लिप्दै महिला। तस्बिर : मिथिलेश/नागरिक

लहान - मधेसका देहातमा ‘दियाबमले चिनिने उज्यालो पर्व तिहारको उत्साह बढेको छ। मधेसमा तिहार पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भातृद्वितीया) गरी तीन दिनसम्म मनाइन्छ।

असत्यविरुद्ध सत्यको, अन्धकारविरुद्ध प्रकाशको, निराशाविरुद्ध आशाको पर्वले मधेसी समाजलाई छपक्कै छोपेको छ।

रावणको वध गरी भगवान् राम अयोध्या फर्केर राज्याभिषेक गरेपछि मनाइएको उत्सवका दिनलाई दीपावलीका रूपमा मनाउन थालिएको किंवदन्ती मधेसी समुदायमा छ।

मधेसमा दुई साताअगाडिदेखि नै दियाबाती पर्वको तयारी गरिन्छ। घरआँगन सरसफाइ र लिपपोत गरी परम्परागत रङले भित्तामा मिथिला चित्र बनाइन्छ। आँगनमा माटो घोलेर थरीथरीका रंगोली बनाइन्छ। दियाबातीको मुख्य दिन शाकाहारी परिकार तयार गरिन्छ। ‘धनतेरस दिनदेखि शाकाहारी विधिले पूजापाठ गर्छौं,’ लहानकी गृहिणी ५० वर्षीया अम्बिका यादवले भनिन्, ‘यस अवधिमा दैनिक पूजाआजा चलिराख्छ।’ मुलुकको अन्य भागमा जस्तै यहाँ पनि गाईलाई लक्ष्मी मानेर अगाध आस्थाका साथ पुजिन्छ। लक्ष्मीपूजाको दिन गाईको गोबरले लिपेर आँगन पवित्र बनाइन्छ।

दियाबाती (दीपावली) का दिन बिहानै गाईको गोबरमा माटो मिसाएर घरआँगन लिपेर चोख्याउने गरिन्छ। साँझ पर्न लाग्दा माटोको दियो र अन्य बिजुली बत्ती बालेर घरहरु झकिझकाउ गरिन्छ। दियाबातीकै रात परिवारका सदस्य कपडाको पोकोमा तारले बेरेर बनाइएको उक बालेर ‘उकालोली’ खेलिन्छ। घरको मूल पुरुषले सनको सन्ठी र खर मिसाएर बनाइएको उक बालेर लक्ष्मी भिœयाउँछन् जसलाई उक फेर्नु भनिन्छ। रातको अन्तिम प्रहरमा घरको मूल महिलाले नाङ्लो बजाएर धनकी देवी लक्ष्मी आह्वान गर्ने चलन पनि छ।

दोस्रो दिन अर्थात् गोवद्र्धन पूजाका दिन गाईबस्तुलाई सिँगारेर मीठो खानेकुरा खुवाइन्छ। यस दिन गाई वस्तुको सिङ रंग्याउने, घाँटीमा गरदामी लगाइदिने र गाईबस्तुको राइस (दाम्लो) फेर्ने चलन छ। दिउँसोतिर गाउँभरिबाट बलियो भैंसी छानेर हुराहुरीमा जुधाउने चलन छ। संँगुरको कलिलो बच्चालाई बाँधेर ढोल बजाउँदै भैंसीबाट मार्न लगाउने खेललाई हुराहुरी भनिन्छ।

तेस्रो दिन भरदुतिया (भातृद्वितीया) उल्लासपूर्वक मनाइन्छ। यस पर्वलाई भाइ दुज, भरदुतिया, भातृद्वितीया, भाइटीकाका नामले मनाइन्छ।

दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा रातो टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायतका उपहार दिन्छन्। यस दिन दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्ने चलन अझै मधेसको ग्रामीण भेगमा कायमै छ। भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन्। आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मिथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ। दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिइएको पिर्कामा बसाउँछन्। त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन्। अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ। त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ।

संस्कृतिविद् देवेन्द्र मिश्र भन्छन्, ‘यस क्षेत्रमा कसैले तिहार, कसैले दियाबात्ती कसैले दीपावली भनेर उही पर्वलाई अलगअलग नामले मनाउँछन्। धनकी देवी लक्ष्मी आगमन हुने विश्वासका साथ लक्ष्मी पूजा मनाइन्छ।’ दीपावलीलाई विजयोत्सवका रूपमा मनाउन थालिएको किंवदन्ती रहेको मिश्रले बताए।

घर लिपेर लक्ष्मीको स्वागत्त
लक्ष्मीपूजा नजिकिएसँग मधेसमा घर सिँगार्ने क्रम बढेको छ। पक्की घर हुनेले रङरोगन गरेका छन्। कच्ची घर भएकाहरू माटोले बनाइएको घरको टाटी (भित्ता) माटोले लिपपोत गर्न जुटेका छन्। सिरहालगायत मधेसका ग्रामीण तथा सहरी भेगका कच्ची र पक्की घरलाई सिँगार्न भ्याननभ्याइ छ।

धनगढीमाई नगरपालिका मेदनीपुरकी सरस्वती चौधरी पनि अहिले घर लिपपोत गर्न व्यस्त छिन्। ‘चार दिनदेखि घर लिपपोत गर्दैछु,’ उनले भनिन्, ‘लक्ष्मीपूजा नजिक आइसक्यो।’ घर लिपपोत गर्न सरस्वती खोलाबाट कालो माटो लिएर फर्कंदै गरेकी उनले भनिन्,‘माटोको जोहो गर्नमै दुई दिन लाग्यो।’

उनका अनुसार माटो ल्याएर मात्र पुग्दैन। माटोलाई जम्मा गरी रातभरि पानी हालेर गिलो बनाइन्छ। त्यसमा धानको भुस हालेर खुट्टाले कुल्चेर लेदो बनाइन्छ। त्यसपछि गोबर मिसाएर भत्केको टाटी मर्मत गरिन्छ। टाटी सुकेपछि चिप्लो माटो घोलेर कपडाले लिपिन्छ।

सिरहा धनगढीमाई नगरपालिका सोनापुरकी लक्ष्मी यादव भन्छिन्, ‘सफा र पवित्र घरमा लक्ष्मीको बास हुन्छ। लक्ष्मी भित्र्याउन घर सफा गरी चिटिक्क बनाइने उनले बताइन्।

प्रकाशित: २१ कार्तिक २०७५ ००:५५ बुधबार

मधेसकाे_तिहार दीपावली