समाज

पिसाच लागेको भन्दै तातो पनिउँले डामेपछि महिला घाइते

सिन्धुली - पिसाच लागेको भन्दै एक महिलालार्इ धामीले ताताे पनिउँले डामेर घाइते बनाएका छन्। कमलामाई नगरपालिका १२ ठहर घर भएकी ३६ बर्षीय पुर्णमाया गुर्मछाने मगरलाई झारफुक गर्ने छिमेकी धामी दुर्गा बहादुर मगरले तातो पनिउँले डाम्दा पुर्णमायाको अनुहार पुर्ण रुपले डढेको छ।

सामान्य काम्ने तथा अनावश्यक बोल्ने जस्तो रोग देखिएकाले नजिकै रहेको धामीकहाँ झारफुक गर्न जाँदा उनले एउटा कालो बोको, रातो भाले पुजा गरेर खानुका साथै पीडितलाई तातो पनिउँले डामेका थिए। पनिउँले डामेर घाइते भएकी उनलाई घरका आफन्तले पनि उपचारमा तत्काल साथ दिएनन्। पीडित महिलाको माइती पक्षका बाबु छोरी भेट्न घर जाँदा छोरी नदेखाएपछि छोरी कता गएकी छन् भन्दै बाबुले आफ्नै ज्वाइसँग सोधखोज गरे। सोधखोज गर्दा समेत यतै होला भन्दै केहि समय उनलाई छोरी नदेखाएपछि उनले छिमेकीकाे सहयाेगमा यथार्थ कुरा थाहा पाएका थिए। उनले नै छोरी पुर्ण रुपमा घाइते देखेपछि अस्पताल ल्याएका थिए। 

गत विहिबार भएको घट्नाको ढाकछोप गर्दै राखेको र उनका बाबुले मंगलबार अस्पताल ल्याएपछि घटना बाहिर अाएको हो। उनका बाबु चन्द्र खुलालका अनुसार छरछिमेकीको समेत मिलेमतोमा धामीले आफ्नी छोरीलाई तातो पनिउँले डामेका थिए। जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वरप्रसाद यादवले धामी फरार रहेको र उनकाे खोजी भइरहेको बताए। 

प्रकाशित: २० कार्तिक २०७५ १०:१७ मंगलबार

पिसाच