समाज

स्थानीयको सक्रियतामा सडक मर्मत

खोलाखर्कका स्थानीय सडक निर्माण गर्दै। तस्बिरः शम्सेरविक्रम/नागरिक

प्यूठान – स्वर्गद्वारी नगरपालीका–३ खोलाखर्कका स्थानीय पुरानो सडकको मर्मत गर्दिन भन्दै धेरै पटक वडा कार्यालय र नगरपालीका पुगे। तर, उनीहरुको मागको सुनुवाई भएन। पटक–पटक बाटो मर्मतका लागि माग गर्दा पनि माग सुनुवाई नभएपछि स्थानीय युवाहरु यतिवेला आफै बाटो मर्मतमा जुटेका छन्।

स्वर्गद्वारी नगरपालीका–३ डाडाखर्कदेखि खोलाखर्क पुग्ने सडक त्यहाका स्थानीय आफैले ६ दिन बढि लगाएर मर्मत गरेका हुन्। १५ घरधुरी रहेको खोलाखर्कका स्थानीयले २ किलोमिटर  सडक आफैले मर्मत गरी मोटर गुड्ने बनाएका छन्।

गतवर्ष स्वर्गद्वारी नगरपालीकाले बजेटको व्यवस्था गरी सडकको ट्रयाक खोल्नेकाम गरेको थियो तर यस वर्ष सडक मर्मतका लागी कुनै पहल नचालेपछि स्थानीय आफै सडक मर्मतमा जुटेका धन बहादुर वुढाले बताए। ‘नगरपालीकाले सडक निर्माणमा खासै चासो देखाएन त्यसैले हामि आफैले निर्माण गरेका हौ’, उनले भने, ‘वर्खामा ठाउँ–ठाउँमा पहिरो जाँदा हिड्नै मिल्दैन थियो। अहिले मर्मत गर्दा वर्षातको समयमा सहज हुने विश्वास लिएका छौं।’ उनले सडक मर्मत भएसँगै निर्वाध सवारीसाधन गुड्ने गरेको बताए।

स्थानीय  धन बहादुर रोका र देबिराम खनालको अगुवाइमा बाटो निर्माणको काम सम्पन्न भएको हो। उता वडाध्यक्ष वासुदेव रेग्मीले भने स्थानीयको विवादका कारण बजेट  विनियोजन नगरिएको जानकारी दिएका छन्।  

गतवर्ष चारलाख लागतमा खोलाखर्क, डाडाखर्क गोगनपानी हुँदै भिगृकोट जोड्ने सडकखण्ड निर्माण गरिएको थियो। सबै बस्तिमा बाटो पु-याउने नगरपालीकाले योजना बनाएको र सबैको घरमा सडक पु-याएरै छाड्ने वडा अध्यक्ष रेग्मिले बताए।

प्रकाशित: २० कार्तिक २०७५ ०६:०६ मंगलबार

स्वर्गद्वारी_नगरपाली सडक_मर्मत