समाज

दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

मोरङ – मोरङको विराटनगर महानगरपालिका –३ स्थित कोशी राजमार्गमा सोमबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ५ ख ४५१३ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १० प ६२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक विराटनगर महानगरपालिका – ५ का ३८ वर्षीय मनोजकुमार मोदीको मृत्यु भएको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मोदीको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ। ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १९ कार्तिक २०७५ १२:२० सोमबार

दुर्घटना मोटरसाइकल_चालक