समाज

गुण्डा नाइके समिरमान बस्नेतकी श्रीमती पक्राउ

काठमाडौं-  निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका गुण्डा नाइके समिरमान सिंह बस्नेतकी श्रीमती मायाँ शेरचनलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले आइतबार उनलाई स्वयम्भुबाट पक्राउ गरेको हो। यस अघि पक्राउ परेका अमरबहादुर थापा र लोप्साङ शेर्पालाई उनले हतियार दिएको आरोप छ। जेलमा समिरमानलाई भेट्न गएकी मायाँले श्रीमानको निर्देशनमा अर्को ग्याङ तयार पार्न हतियार व्यवस्थापन र हुन्डी मार्फत पैसा पठाउनको गरेको समेत प्रहरीले अनुसन्धानमा फेला पारेको छ।

उनलाई हतियार व्यवस्थापनमा सहयोगी भूमिका खेलेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको महाशाखाका प्रमुख धिरजप्रताप सिंहले बताए।

समिरमानलाई मुस्ताङ कारागारमा सुरुवा समेत गरिएको थियो। जेलमै बसेर अपराधिक योजना बनाएको भन्दै उनलाई मुस्ताङ सुरुवा गरे पनि उनको परिवारले सर्वोच्चमा रिट दायर गरेको थियो। अहिले उनलाई केन्द्रिय कारागारमा राखिएको छ।

 

 

प्रकाशित: १८ कार्तिक २०७५ ०८:२५ आइतबार

समिरमान शरद_गौचन मायाँ_शेरचन