समाज

वडा अध्यक्षको तलब समाजसेवामा

डा अध्यक्ष नेत्र बहादुर गिरी। तस्बिरः दिनेश/नागरिक

रोल्पा – रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा न. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरीले आफ्नो पाँच वर्षको सबै तलब सामाजिक क्षेत्रमा खर्चने घोषणा गरेका छन्।

‘हामी तलब खानलाई निर्वाचित भएका होइनौं। जनताको सेवा गर्न राजनीति गर्ने अनि कर्मचारीले जस्तो महिना मरेपछि तलब थाप्ने। असहज लाग्यो। त्यसैले तलबको सबै रकम शिक्षा र स्वास्थ्यमा लगाउने छु।’ गिरीले भने, ‘सबैसँग सल्लाह गरेर कहाँ र कसरी व्यवस्थापन गर्ने छलफल गर्दैछु।’

स्वतन्त्र उमेद्वारका रुपमा निर्वाचन जितेका गिरी स्थानीय रुपमा समाजसेवीका रुपमा परिचित समेत छन्। दसैं जस्तो चाडवाडमा समेत कतिपय कर्मचारीले आर्थिक वर्ष सुरु भए यताकै तलब खान नपाउने तर जनप्रतिनिधिले चाही तलब थाप्ने। आफूलाई असहज लागेको उनी बताउँछन्। ‘हामी निर्वाचित कर्मचारी जस्तो पो भइयो। कर्मचारीलाई चार महिनाको तलब र दसैं पेश्की पनि खुवाउन नसक्ने अनि चुनाव जितेका हामीले पो तलब खाने। यो त हदैसम्मको लज्जाबोध हो।’

रोल्पामा रहेका गाउँपालिकाका वडा अध्यक्षहरूले मासिक २० हजारका दरले मासिक तलब खाने गर्दछन। यसरी हेर्दा गिरीले आफ्नो कार्यकालमा पाउने १२ लाख रकम शिक्षा र स्वास्थ्यमा खर्चिने छन्। ‘यो रकम कसरी खर्च गर्ने भन्ने बारेमा सबैसँग सल्लाह गर्दैछु। स्थानीयलाई प्रत्यक्ष लाभ हुने गरी खर्च गर्ने सोच छ।’ नागरिकसँग कुरा गर्दै गिरीले भने, ‘सुनिल स्मृती गाउँपालिका वर्डा न. २ खुङग्रीमा रहेका साबिकका सबै ९ वटै वडा समेटिने गरी आफ्नो तलब लगाउने छु।’

प्रकाशित: १५ कार्तिक २०७५ ०७:५० बिहीबार

वडा_अध्यक्ष तलब समाजसेवा