समाज

भ्रम फैलाउने सम्पादक पक्राउ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भई अस्पताल भर्ना भएपछि झूठो समाचार सम्प्रेषण गरेको अभियोगमा डिजिटल पत्रिका अनलाइनका सम्पादकलाई प्रहरीले पक्राउ गरेको छ। पाथिभरा अनलाइन डटकमका सम्पादक हरिप्रसाद मानन्धरलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।

कागेश्वरी मनहरा नगरपालिका बस्ने स्याङजाका मानन्धरले प्रधानमन्त्री ओली बिरामी भएर शिक्षण अस्पताल भर्ना भएपछि हार्दिक श्रद्धान्जली भन्दै शवसहितको फोटो राखेर समाचार प्रकाशित गरेको अभियोगमा पक्राउ परेका महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए। सम्पादक मानन्धरले सो तस्बिरलाई अनलाइनबाट समाजिक सञ्जाल फेसबुकमा पनि शेयर गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई विद्युतीय कारोबार अपराध ऐनअन्र्तगत मुद्दा चलाइने जनाएको छ। यस्ता भ्रमपूर्ण, झुटो समाचार सम्प्रेषण नगर्न नगराउन महाशाखाले सबैमा अनुरोध समेत गरेको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई लिएर सामाजिक सञ्जालमा जथाभाबी भ्रमपूर्ण समाचार प्रकाशित र सेयर गरेकोमा प्रधानमन्त्री कार्यालयले आपत्ति जनाउँदै गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ। गृह मन्त्रालयले भने यस घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०७५ ०३:१९ बिहीबार

प्रधानमन्त्री_केपी_शर्मा_ओली