समाज

मोटरसाइकल चोरीमा प्रहरीकै संलग्नता

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीको मोटरसाइकलसहित नेपाल प्रहरीका तीन जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्ने प्रहरी जवानमा वासिङ्टन घर्ती, दीपेन्द्र शाही र इन्द्रजित कडरिया छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो।

उनीहरुले बा५७प २५९९ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ । घर्ती र शाही महानगरीय प्रहरी प्रभाग पाटनमा कार्यरत छन् । कडरिया भने महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत छन् । मोटरसाइकल चोरी गर्ने गिरोहको खोजी गर्ने क्रममा सिसिटिभीको दृश्यमा उनीहरु पनि देखिएपछि परिसरले अनुसन्धान थालेको थियो । परिसर प्रहरीका अनुसार उनीहरुले सो मोटरसाइकल कात्तिक ५ मा चोरी गरेका थिए।

प्रकाशित: १४ कार्तिक २०७५ ०१:४७ बुधबार

मोटरसाइकल_चोरी प्रहरी