समाज

उडान बन्द हुँदा यात्रु मारमा

बेस–कोर्स ओछ्याएर कालोपत्रेको तयारी गरिएको थामखर्क बिमानस्थल । तस्बिर : दमन राई/नागरिक

खोटाङ - खोटाङका सबै विमानस्थल बन्द हुँदा यात्रु मारमा परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थल, रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा विमानस्थल र खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थल बन्द हुँदा यात्रु मारमा परेका हुन्।

उडान नहुँदा दशैंतिहारका समयमा आवत–जावत गर्ने स्थानीय बढि मारमा परेका छन्। वर्षाको पानीको कटानका कारण विमानस्थल जोखिममा परेपछि नियमित उडान हुन सकेको हो। कालोपत्रेको चरणमा रहेको लामीडाँडा र थामखर्क विमानस्थलमा भने तोकिएको समयमा ठेकेदारले काम सम्पन्न नगर्दा उडान हुन नसकेको हो। गत जेठ १ गते परेको भारी वर्षाका कारण ढल थुनिएर रन वेमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको डिलको माटो कटान गरेकाे थियाे।

यस्तै, कालोपत्रेका विभिन्न चरणको काम सुरु गरिएसँगै खोटाङको सबैभन्दा पुरानो विमानस्थल लामीडाँडा विमानस्थलमा समेत उडान बन्द छ। २०७४ साल माघ १६ गतेसम्ममा पूरा गर्नेगरी २०७३ साल मंसिर १७ गते सम्झौता गरिएको विमानस्थल कालोपत्रेकाे काममा निर्माण कम्पनी वाइएएन–एसएपी–सुर्य कन्सट्रक्सन जेभीको ढिलासुस्ती हुँदा उडान सुरु हुन नसकेको हो। यस्तै, २०७५ साल असार मसान्तभित्रमा कालोपत्रेकाे काम सम्पन्न गर्नेगरी रौता कन्सट्रक्सनले २०७३ सालबाट प्रारम्भिक चरणका काम सुरु गरेको थामखर्क विमानस्थलमा भर्खर बेस–कोर्सको काम मात्र पूरा भएकाे छ।

 

प्रकाशित: १२ कार्तिक २०७५ १२:५९ सोमबार

खोटाङ विमानस्थल