समाज

विमानस्थल बन्द भएपछि बिरामी ओसार्दै सेनाको हेलिकप्टर

जुम्ला - स्तराेन्नती गर्ने भन्दै बुधवारदेखि जुम्ला विमानस्थल बन्द भएपछि नेपाली सेनाको हेलिकप्टरले जुम्लावाट बिरामी ओसार्न थालेको छ। जुम्लामा उपचार सम्भव नभएकालार्इ सेनाकाे हेलिकप्टरले मेडिकल कलेज कोहलपुरमा ओसार्न थालेको हो। शुक्रवार पहिलो दिन पाँच जना बिरामीलाई नेपाली सेनाको हेलिकप्टरले कोहलपुर लगेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार हुन नसकेका बिरामीको हेलिकप्टरले उद्धार गरेको हो। बुधबार हिमा गाउँपालिका १ दयार गाउँमा भएको जीप दुर्घटनामा परी घाईते भएका ४ जना र एक जना मुटुरोगीका बिरामीको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए। जुम्ला विमानस्थल बन्द भएपछि विरामी अस्पतालमा अलपत्र परेका थिए। प्रमुख जिल्ला अधिकारी पौडेलको पहलमा अस्पतालमा उपचार हुन नसकेका बिरामीको हेलिकप्टर मार्फत कोहलपुर लगिएको होे। चन्दननाथ नगरपालिका ९ का दिपवहादुर सार्की, सोही वडाकै गगने सार्की, चन्दननाथ नगरपालिका ३ का जितेन्द्र खत्री र चालक दुल्लु नगरपालिका ५ का भक्ति साउदलाई हेलिकप्टर मार्फत मेडिकल कलेज कोहलपुर लगिएको हो। 

 

प्रकाशित: ९ कार्तिक २०७५ ०८:१६ शुक्रबार

जुम्ला नेपाली_सेना हेलिकप्टर