समाज

हत्या आरोपमा ६ पक्राउ

विराटनगर - विराटनगर १४ का १९ वर्षीय राहुल भगतको हत्यामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। विजया दशमीको साँझ विराटनगर–९ स्थित हनुमान मन्दिर अगाडी भगतलाई छुरा प्रहार गरी फरार भएको समूहका ६ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मोरङले विहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। 

पक्राउ पर्नेमा विराटनगर –११ का १८ वर्षीय विशाल सहनीसहित १६ देखि १८ वर्ष उमेर समूहका ६ जना रहेको मोरङ प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोज केसीका अनुसार  छुरा हानी फरार रहेको समूहको खोजी गर्नेक्रममा जिल्लाका विभिन्न स्थानबाट उनिहरूलाई पक्राउ गरिएको हो। विजया दशमीको साँझ विराटनगरको  भीडभाड हुने क्षेत्रमा अज्ञात समूहले साथीहरूसँग घुम्न निस्किएका भगतलाई छुरा हानी घाइते बनाएको थियो। छुरा प्रहारबाट घाइते भएका भगतको विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।  

प्रकाशित: ८ कार्तिक २०७५ १२:५९ बिहीबार

हत्या पक्राउ