समाज

तीन बालिकालाई ललाईफकाई लैजादै गरेकी युवती पक्राउ

पाल्पा – काम लगाई दिने बाहानामा तीन बालिकाहरुलाई लैजादै गर्दा एक युवती पक्राउ परेकी छिन्। तानसेन नगरपालिका–७ तिनटीआँपबाट बुटवलतर्फ बालिका लैजादै गरेको अवस्थामा शर्मीला खत्री पक्राउ परेकी हुन्।

बिहान ३ बजे घरबाट सरसामाग्री सहित झोला लिएर हिँडेका तीन बालिकासहित खत्रीलाई स्थानीयले पक्राउ गरी प्रहरीमा खबर गरेका थिए। बुटवल उपमहानगरपालिका–१३, देविनगर बस्दै आएकी शर्मिला खत्री दशैंमा मावली घर आएको समयमा बालिकाहरु फकाएर हिँडेको अवस्थामा पक्राउ गरिएको स्थानीय अर्जुन थापाले बताए। थापाले उनलाई पक्राउ गर्न सफल भएकाले तीन चेली बेचिनबाट बचेको बताए।

बुधबार बिहान ३ बजेको समयमा शर्मीलाले एउटै गाउँका तीन युवतीलाई बुटवल काममा लगाईदिने भन्दै घरबाट निकालेको उनले बताए। घरमा सुतिरहेका छोरी नदेखेपछि खोजी गर्दा उनी बालिकासहित पक्राउ परेकी हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार १६ वर्षकी ममता कुमाल, १५ वर्षकी सुस्मिता कुमाल र १४ वर्षकी अनिषा चौधरीलाई कम्पनीमा काम लगाई दिने प्रलोभनमा पारी लैजादै गरेको अवस्थामा पक्राउ गरिएको हो। स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलिले उनलाई पक्राउ गरेको प्रहरी निरिक्षक अमृत भण्डारीले बताए।

ठगी गर्ने नियतले बालिकालाई काम लगाइदिने प्रलोभनमा घरमा जानकारी नगराई लैजान लागेको स्थानीयले बताएका छन्। मावली घर आएका बेला ती बालीकाहरुसँग युवतीको चिनजान भएको थियो। घरमा आर्थिक अवस्था कमजोर भएकाले जागीर लगाई दिन आग्रह गरे पछि आफुले बालिकाहरुलाई लैजान लागेको प्रहरीको प्रारिम्भक बयानमा ती युवतीले बताएकी छन्।

केका लागि र कहाँ जैलान लागेकी हुन भन्ने विषयमा अनुसन्धान भइरेहको प्रहरी निरिक्षक भण्डारीले बताए। बालिकाहरुलाई सोधपुछपछि अभिभावकको जिम्मा लगाइएको छ।

प्रकाशित: ८ कार्तिक २०७५ ०५:१८ बिहीबार

युवती_पक्राउ प्रहरी अपराध