समाज

कोशीटप्पुमा छावा जोगाउन हम्मे

शोभाकलीले जन्माएको छावा पोथी। तस्बिरः नागरिक

इटहरी - कोशीटप्पु वन्यजन्तु आरक्षमा शोभाकली हात्तीले जन्माएको छावा पोथीलाई जोगाउन हम्मेहम्मे परेको छ। आरक्षमा पाँचवटा संरक्षित हात्तीमध्ये शोभाकलीले गत असोज १९ गते छावा जन्माएकोमा खुसियाली त मनाइयो तर त्यस छावालाई जोगाउन भने चुनौती देखिएको छ।

शोभाकलीले छावा पोथी जन्माएपछि हाल कोशीटप्पुमा रौनक बढेको छ। आरक्षका हात्तीसार विभागका अधिकृत रामगुलाम चौधरीले भालेभन्दा पोथी हात्तीलाई सजिलै नियन्त्रण गर्न सकिने र वच्चा जन्माउने हुँदा खुसियाली मनाइए पनि जंगली हात्तीको डरलगायतका कारणले कुनै समस्या हुन नदिन सचेत भएर लागि परेको बताए। यसै पनि हात्तीका छावा नगन्य मात्र बाँच्ने गरेका छन्। त्यसैले छावा जोगाउन आरक्षका कर्मचारीको टोली अहोरात्र खटिइरहेका छन् । ‘जंगली हात्तीले सानो छावालाई देखिसहँदैन। त्यसैले गर्दा जंगली हात्ती आउन नदिन पूरै कर्मचारीहरु खटिइरहेका छौं,’ चौधरीले भने, ‘छावा जोगाउन कर्मचारी मात्र होइन पशु चिकित्सक पनि खटिइरहनु भएको छ।’

जंगली हात्तीलाई रोक्न आरक्षको प्रकाशपुरदेखि हरिपुरसम्म विद्युतीय घेराबेरा लगाइएको छ। यद्यपि जंगली हात्तीलाई तारबारबाट मात्र जोगाउन गाह्रै हुन्छ। जंगली हात्ती कुनै पनि बेला आरक्षका संरक्षित हात्तीसँग संसर्गमा आउने हुँदा छावा जोगाउन चुनौती छ।

‘शोभाकलीको छावा र अरु दुई गर्भिणी हात्तीलाई आरक्षका अन्य हात्तीसँग संसर्ग हुन नदिन पूरै कर्मचारी निगरानीमा छौं,’ चौधरीले भने, ‘भारतीय क्षेत्रबाट आउने दाँत नभएका मकुना हात्तीबाट पनि उत्तिकै खतरा हन्छ ।’ मकुना हात्तीले अघिल्लो वर्ष आरक्ष आसपासमा विध्वंस मच्चाएको थियो। ‘पोथी हात्ती भनेपछि मकुना मरिहत्ते गर्छ,’ हात्तीसार विभागका अधिकृत चौधरीले भने।

शोभाकलीले जन्माएको छावा पोथी सुन्दर छ । अहिले यसको नाम राखिएको छैन । केही दिनमै छावाको नाम राखिने आरक्ष प्रशासनले जनाएको छ । छावाको सम्भावित नाम हाललाई प्रतीक्षाकली र कोशीकली जुरेको छ। प्रतीक्षाकलीको अर्थ कहिले ब्याउँछ भनेर प्रतिक्षा गर्दागर्दै जन्माएको भन्ने र कोशीकली भने कोशीकै नामसँग जोडिएको बताइएको छ । सुत्केरी शोभाकलीलाई अहिले सक्खरमा चामल मिसाएर खिर र दूध बढाउने औषधि खुवाइएको छ।

शोभाकली हात्तीको उमेर ५२ वर्ष पुगेको छ । यसअघि शोभाकलीबाटै लक्ष्मीकली जन्मिएको हो । लक्ष्मीकली जन्मिनुभन्दा शोभाकलीले १२ वर्षअघि एउटा बच्चा जन्माए पनि छ महिनापछि सो बच्चा मरेको थियो । शोभाकलीलाई चितवनबाट कोशी टप्पु ल्याइएको हो ।

आरक्षमा संरक्षित हात्तीमध्ये अब दमदमीकली र सरस्वतीकली गर्भिणी छन् । यी दुईवटै पहिलोपटक गर्भिणी भएका हुन् । दुवैको उमेर १३–१३ वर्ष छ । अहिले गर्भिणी भएको १८ महिना पुगेको छ । अब झन्डै चार महिनापछि दमदमीकली र सरस्वतीकलीले बच्चा जन्माउने छन् । हात्तीले २२ महिनामा बच्चा जन्माउने गर्छ । शोभाकलीले भने २२ महिना दुई साताको अवधिमा बच्चा जन्माएको हो।

आरक्षमा संरक्षित लक्ष्मीकलीको भने गर्भ तुहिएको अनुमान गरिएको छ । लक्ष्मीकलीको स्तन सुक्दै गएकाले गर्भ तुहिएको अनुमान गरिएको हो । लक्ष्मीकली नौ वर्ष पुगेकी छ।

आरक्षको अम्बिकाकली भने एकपटक भाले लागेर गर्भ बसे पनि उसको बच्चा खेर गएकाले त्यसयता गर्भ बसेको छैन। अम्बिकाकलीको उमेर ६० वर्ष पुगेको छ । हात्तीले आफ्नो आयुभर आठ पटकसम्म बच्चा जन्माउने गरेको छ।

दमदमीकली र सरस्वतीकली भने चितवनबाटै दुई वर्षअघि काजमा ल्याइएको हो । यी दुईवटै चितवनमै जन्मिएका हुन्।

कोशी टप्पुमा सरुवा भएका पाँचवटा हात्ती भने चितवनमै छन् । पार्वतीकली, पृथ्वीकली, कुसप्रसाद, पारसगज र तीर्थमानकाली चितवनमा छन् । पार्वतीकली र पृथ्वीकली २०४७ सालताका कोशी टप्पुबाट चितवन काजमा लगिएको हो । कुसप्रसाद, पारसगज र तीर्थमानकली भने चितवनमै जन्मिएका हुन् । यी हात्तीलाई केही वर्षअघि कोशी टप्पुमा सरुवा गरिएको हो । कोशी टप्पुमा १० वटा हात्तीको दरबन्दी रहे पनि अहिले पाँच वटा मात्र छन्।

पछिल्लो समय शोभाकली सुत्केरी भएको र अरु दुई हात्ती गर्भिणी छन् । ‘हात्ती गर्भिणी भएपछि पर्यटकलाई चढाउन मिल्दैन,’ हात्तीसार विभागका प्रमुख चौधरीले भने, ‘चितवनमा काजमा लगेका हात्ती फिर्ता नगर्दा पर्यटक घुमाउन समस्या छ।’

प्रकाशित: ७ कार्तिक २०७५ ०१:३९ बुधबार

कोशीटप्पु_वन्यजन्तु_आरक्ष हात्ती