समाज

यात्रुसँग लिइएकाे बढी भाडा ट्राफिकद्वारा फिर्ता

बढी लिएको भाडा फिर्ता गराउँदै टाफिक प्रहरी। तस्विरः महेश्वर/नागरि

उयदपुर – दसैंको मौका छोपेर यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल्ने यहाँका २ सवारी साधनलाई कारबाही गरी यात्रुबाट लिइएको बढी भाडा फिर्ता दिलाइएको छ। चाडबाडको बेला अनिवार्य यात्रा गर्न बाध्य यात्रुबाट लिएको बढी भाडा जिल्ला ट्राफिकको सक्रियतामा फिर्ता गराइएको हो। 

दसैं, तिहार र छठको मौका छोपेर यात्रुसँग अनियमित रुपमा बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले त्यस्ता सवारी साधनका चालकलाई नियन्त्रणमा लिई बढी रकम फिर्ता गराएको हो। अनावश्यक भाडा लिएको उजुरी परेसँगै त्यस्ता सवारी साधनलाई मंगलबार ट्राफिक पोष्ट जलजलेले नियन्त्रणमा लिएर यात्रुलाई फिर्ता गराउँदै सवारी चालकलाई जरिवानासमेत तिराएको छ। 

चाडपर्वका बेला यातायात व्यवसायीले चर्को भाडा असुलेको गुनासो आएपछि चनाखो भएको ट्राफिकले चारैतिर निगरानी बढाएको थियो। यसैक्रममा बढी भाडा लिने एउटा बस र एउटा सुमो जीपका १६ यात्रुलाई बढी रकम फिर्ता गराएको ट्राफिक पोष्ट जलजलेका जवान गोविन्द पौडेलले बताए।

उनका अनुसार बढी भाडा लिने ना १ ज ६२४२ नम्बरको सुमो जीप र बा ४ ख ५९२१ नम्बरको कृतिका डिलक्सबाट लिइएको बढी रकम फिर्ता गराइनुका साथै जरिवानासमेत तिराइएको छ। सुमोमा चढेर काठमाडौं जान लागेका ८ वर्षीय बालक र बसका १५ यात्रुसँग लिएको बढी भाडा तत्काल फिर्ता गराएको पौडेलले बताए। सरकारले तोकेको प्रतिव्यक्ति १ हजार रुपैयाँ भाडा लिनुपर्नेमा १ हजार ३ सय लिएका दुवैलाई बढी रकम फिर्ता गराउँदै जरिवाना तिराइएको हो। 

बालकलले आफुसँग १३ सय रुपैयाँ लिएको उजुरी ट्राफिकलाई दिएका थिए। ८ वर्षीय बालकसँग ३ सय बढी भाडा लिने व्यवसायीले अन्य सवारीमा पनि त्यस्तो गरेको हुनसक्ने आशंकाले सोधखोज गर्दा बसले १५ जनाबाट सोही दरमा भाडा लिएको खुलेपछि दुवै सवारी साधन कारबाहीमा परेका हुन्। दुवै सवारी साधनबाट २/२ हजारका दरले जरिवाना समेत असुल गरिएको छ। 

पहिलो पटकको घट्ना भएकाले २ हजार मात्र जरिवाना गरेर छाडिएको ट्राफिक जिल्ला इन्चार्ज अमृतबहादुर कार्कीले बताए। कारबाहीमा परेका गाडीले पुनः बढी भाडा लिएको पाइएमा कडा कारबाही गर्ने लिखत सहमतिका साथ छोडिएको कार्कीले बताए। 

सरकारले गाईघाट र बेल्टारबाट काठमाडौंसम्मको भाडा दर प्रतिव्यक्ति १ हजार रुपैयाँ तोकको छ। तर, गाडीहरुले ३ सयसम्म बढी रकम लिएर मनोमानी ढंगले यात्रु ठग्ने गरेको गुनासो आएपछि ट्राफिकले सवारीसाधनमाथि निगरानी बढाएको जनाएको छ। 

त्यस्तै पहाडी रुटका सडकमा अटो रिक्सा चलाउन ट्राफिक प्रहरीले प्रतिबन्ध लगाएको छ। साउने, खाँबु, रौता, मुर्कुचीलगायत रुटमा अटो रिक्सा चलाउन रोक लगाइएको इन्चार्ज कार्कीले बताए। कच्ची, घुम्ती र साँघुरो सडक भएकाले पहाडी भेगका रुटमा दुर्घट्ना हुने बढी संभावना हुने हुँदा अटो रिक्सा र टेम्पोहरुलाई त्यता चलाउन रोक लगाइएको प्रहरीको भनाई छ। गाईघाटदेखि साउने, खाँबु, रौता, मुर्कुचीलगायत रुटमा जानबाट अटो रिक्सालाई रोक लगाइएको छ। नियम उलङ्घन गरेर जबरजस्ती पहाडी सडकमा चलाए त्यस्ता अटो रिक्सा चालकलाई अधिकतम जरिवाना र कारबाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७५ ०९:१९ मंगलबार

गाडि_भाडा ट्राफिक_प्रहरी फिर्ता