समाज

चाडपर्वमा बिपी राजमार्गमा सवारीको चाप उच्च

सिन्धुली—विगत एक दशक अगाडिसम्म काठमाडाैं ओहोरदोहोर गर्न सिन्धुलीबासीलाई ठुलै योजना बनाउनु पर्थ्याे। तर बिपी राजमार्ग खुलेपछि भने सिन्धुली मात्रै नभई पूर्वी पहाड र तराईका बासिन्दालाई काठमाडौंको यात्रा सहज बनाएको छ। यात्रा सहज बनाउनुका साथै पूर्व–पश्चिम राजमार्ग हुँदै महेन्द्र राजमार्गबाट काठमाडौं पुग्ने अधिकांश सवारी बिपी राजमार्ग हुँदै ओहोरदोहोर गर्न थालेका छन्।

चाडपर्वमा बिपी राजमार्ग मुख्य नाकाकै रुपमा रहेको स्थानीय बताउछन्। यहाँबाट दैनिक हजारौ गाडी गुडेको देखिन्छ, सिन्धुलीका एक स्थानीयले भने, ‘बिपी राजमार्गले चाडपर्वमा सहज यात्रा बनाएको छ। निर्माण सम्पन्न भएपछि बर्दिबास–सिन्धुली–बनेपा सडकखण्डले दसैंका यात्रुलाई सहज बनाएको हो। देशको मुख्य शहर काठमाडौं लगाएत विभिन्न शहरबाट सिन्धुली सहित विभिन्न जिल्लामा ओहोरदोहोर गर्ने यात्रुहरुलाई निर्माणधिन बिपी राजमार्गले सहज बनाएको हो।

महेन्द्र राजमार्गबाट १२ घण्टा यात्रा गरेर सिन्धुली आइपुग्ने यात्रुहरु पनि बिपी राजमार्गबाट ४ घण्टामै सिन्धुली आउन थालेपछि महेन्द्र राजमार्गको यात्रालाई कथाकै रुपमा सम्झन्छन्। दुई दिनदेखि सिन्धुली फर्कने योजना बनाउनु पर्थ्याे, सिन्धुलीका रामकुमार बम्जनले भने,‘अझ दसैंमा यात्रा गर्दा त एक महिना अगाडिबाटै टिकटको लागि सोर्स लगाएर सिट रोक्नुपर्ने बाध्यता थियो। उनले बिपी राजमार्गले सिन्धुलीका यात्रुलाई मात्रै नभएर झापा काकरभिट्टा सम्मका यात्रुलाई सहजता ल्याएको बताए। बिपी राजमार्गले यात्रुहरुलाई काठमाडाैं सिन्धुली पानी पधेरोझै बनाएको छ। हाल सिन्धुली खुर्कोट बनेपा सडक खुलेसँगै यात्रुलाई यात्राको लागि ठुलो सास्ती खेप्नु पर्दैन।

करिब १० वर्ष पहिले दसैंको समयमा काठमाडाैंंबाट सिन्धुली आउदा महेन्द्र राजमार्गबाट बसको छतको यात्रा गरेको स्मरण गर्दै सिन्धुलीका स्थानीयबासी हेमन्त श्रेष्ठले भने,‘अहिले त सिन्धुली पानी पधेरो झै रहेछ, सहजै रुपमा आइयो।’ उनले काठमाडाैंको यात्राका लागि १२ घण्टा लाग्थ्यो भन्दा अहिले एकादेशको कथा जस्तै भएको बताए। बिपी राजमार्ग खुलेपछि साना ठुला गाडी सञ्चालनमा आएपछि ओहोरदोहोर सहज भएको छ। महेन्द्र राजमार्गबाट सञ्चालन हुने गाडी दैनिक एकोहोरो मात्र सञ्चालित थियो भने छोटो रुट खुलेपछि ओहोरदोहोरनै भ्याएका छन् टाटासुमो बलेरोले।

काठमाडाैंबाट एक टिफ यात्रु झारेर पुन काठमाडाैं पुगेर अर्को टिफ यात्रु सिन्धुलीमा ल्याउनसम्म भ्याएका छन्। साघुरो र घुमाउरो सडक भएपनि ठुला ठुला सवारीका साधन समेत बिपी राजमार्गबाट चल्न दिँदा साना सवारीलाई भने जोखिम बढ्दै गएको छ। रात्रीको समयमा ठुला मालवाहक सवारी र दिउँसोको समयमा साना तथा यात्रुवाहक सवारी चल्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालाई दिएको छ। मन्त्रालयले ठुला गाडीलाई समेत बिपी राजमार्गमा गुड्न दिएपछि ठुला ट्रक तथा ट्रिफरले सडक खचाखच छ। यसले गर्दा साना सवारीलाई दुर्घटनाको जोखिम भएको स्थानीय बताउछन्।  चाडपर्वमा सडकमा सवारी चाप समेत बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दसैं गर्दा दैनिक साना तथा ठुला गरी तीन हजार बराबर सवारी दैनिक यस राजमार्ग हुँदै आवातजावत गर्ने गरेका छन्। चाडपर्वले राजमार्गमा सवारीको चाप बढेको छ, जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वरप्रसाद यादवले भने, ‘चाडपर्वमा हजारौ गाडी बिपी राजमार्ग हुँदै गुड्छ्।’ सवारीको चाप बढेकाले आफ्नो लेनमै ओहोरदोहोर गर्न चालकले पनि ध्यान दिनुपर्ने बताए। लेन थोरै मात्रै मिचेपनि दुर्घट्ना बढ्नसक्ने भन्दै जथाभावी ओभरटेक गर्ने तथा ट्राफिक नियम मिच्ने काम चालकले नगर्न प्रहरीले सुझाएको छ। 

 

प्रकाशित: ४ कार्तिक २०७५ १०:०९ आइतबार

बिपी_राजमार्ग सवारी_चाप सिन्धुली