समाज

बसपार्कको पुल हाउसबाट १४ जुवाडे पक्राउ

जुम्ला- जुम्लाको बसपार्क नजिकैको पुल हाउसमा जुवा खेल्दै गरेका १४ जना पक्राउ परेका छन्। जुवा खेल्दै गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरी नायव उपरीक्षक सिताराम रिजालका अनुसार जुवाडेबाट २ लाख ५१ हजार रुपैयाँ जफत गरिएको छ। उनले भने, ‘जुवाडेहरु जुवा खेल्दै थिए, प्रहरीले छापा हानेर उनीहरुलाई पक्राउ गर्न सफल रह्यो, दशेँ तिहारका नाममा विकृति निम्त्याउने जो सुकैलाई कार्वाहीको दायरामा ल्याउने गरी प्रहरी परिचालन गरेका छौँ।’

पक्राउ परेका जुवाडेविरूद्ध जुवा ऐन अनुसार कारवाही  प्रक्रिया अघि बढाइएकाे छ। 

जिल्लामा दशैँ तिहारका नाममा बढ्न सक्ने जुवातास, मदिरा सेवन लगायतका क्रियाकलाप रोक्न जुम्ला प्रहरीले अभियान थालेको छ। ‘दशैँ तिहार नजिकिदै गर्दा प्रहरीले विकृती जन्य क्रियालापमा कडा निगरानी बढाएको छ’, डिएसपी रिजालले भने, ‘जुवातास, मदिरा सेवन जस्ता समाजमा अपराध निम्त्याउने क्रियाकलाप बन्द गर्न सचेत गराएका छौँ।’ 

दशैँ तिहारलाई लक्षित गर्दै सदरमुकाम आसपासका क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ। चाडपर्वको नाममा हुने विकृति जन्य क्रियाकलापमा कसैसंग सम्झौता नहुने रिजालले जानकारी दिए। उनले भने, “पक्राउ परेकालाई छुटाउनको लागि आउन सक्ने दवाव, प्रभावमा नपरि कानुन बमोजिम कार्वाही गर्न पछि हट्दैनौ।” पक्राउ परेका सवै जुवाडे चन्दननाथ नगरपालिका क्षेत्रका हुन। 

 

प्रकाशित: ३० आश्विन २०७५ ०५:५२ मंगलबार

जुवातास