समाज

सदरमुकामको सुविधा गाउँमै

एकीकृत घुम्ती शिविरमा अंपागता भएकी ठकुरी थारूलाई नागरिकता प्रदान गर्दै प्रतिनिधि सभा सदस्य विमला विक । तस्बिरः निर्मल/नागरिक

बर्दिया – दसैंको रौनक छाएका बेला सरकारी सेवा सुविधा पनि गाउँमै पाएपछि बारबर्दियाका बासिन्दामा खुसी थपिएको छ । जिल्ला प्रशासन कार्यालयले एकीकृत घुम्ती शिविर सञ्चालन गरेर एकै ठाउँबाट विभिन्न सरकारी सेवा प्रदान गरेको हो । शिविरमार्फत् नागरिकता, ज्येष्ठ नागरिक परिचय पत्र, विवाह दर्ता लगायतका सरकारी सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङम्वाङले जानकारी दिए।

गाउँ नजिकैको चौरमा सञ्चालित घुम्ती शिविरबाट आइतबार नारिकता पाउँदा बारबर्दिया नगरपालिका–७, पदनाहाकी २३ वर्षीया अंपागता भएकी ठकुरीकुमारी थारू दंग परिन् । सदरमुकाम गुलरिया पुग्दा समेत नबनेको छोरीको नागरिकता गाउँमै पाउँदा ज्यादै खुसी लागेको उनकी आमा टेग्नी थारूले बताइन् । यस्तै ६६ वर्षीया पुनु चौधरीले आफूले ज्येष्ठ नागरिक परिचयपत्र मात्र पाइनन्, छोरा–बुहारीको बिहे दर्ता गराउनुका साथै बिरामी नातिको निःशुल्क उपचारसमेत गराइन्।

गुलरिया सदरमुकाम पुग्न नसकेकी चौधरी गाउँमै तीनवटा सेवा पाउँदा दंग परिन् । उनीजस्तै सदरमुकाम जान नसक्ने धेरै ज्येष्ठ नागरिकले गाउँमै परिचयपत्र पाए । गाउँमै सञ्चालित शिविरबाट नागरिकताविहीन धेरै युवा युवतीले नागरिकता बनाए । यस्तै विभिन्न रोग पालेर बसेका बालबालिका, महिला तथा वृद्धवृद्धाले स्वास्थ्य शिविरबाट लाभ उठाएका नगरप्रमुख दुर्गा थारूले बताए।

प्रतिनिधि सभा सदस्य विमला विक, प्रदेशसभा सदस्य तिलक शर्मा र प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङम्वाङ सहभागी टोलीले जनगुनासो संकलनदेखि सरकारी सेवाको पहुँचबाट बाहिर रहेका वर्गलाई गाउँगाउँमै गाउँमै सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले एक महिना अघिदेखि जिल्लाका आठ स्थानीय तहमा यस्तो अभियान सुरु गरेको हो । त्यस क्रममा बारबर्दियामा पनि यो अभियान सञ्चालन गरिएको हो । उक्त अभियानबाट अहिलेसम्म दुई हजार सर्वसाधारणले सरकारी सेवा सुविधा पाएको स्थानीय प्रशासनको अनुमान छ।

प्रकाशित: ३० आश्विन २०७५ ०१:४२ मंगलबार

सरकारी_सुविधा बारबर्दिया दसैं