समाज

लोप हुँदै ‘भिझिया’

रौतहट – तराई–मधेसमा दसैंका बेला महिलाले मनाउने सांस्कृतिक पर्व ‘भिझिया’ विस्तारै लोप हुँदै गएको छ । यस पर्वमा मधेशी महिलाले प्वालै–प्वाल पारिएको गाग्रोभित्र दियो बालेर राति गीत गाउँदै र नाच्दै गाउँ डुल्ने गर्छन्।

लोक संस्कृतिको महत्वपूर्ण अंग बनिसकेको झिभिया पर्व लोप हुने अवस्थामा पुगेको भन्दै संस्कृतिविद्हरूले चिन्ता व्यक्त गर्न थालेका छन् । तर कतिपयले भने भिझिया पर्वमा गाइने गीतमा अन्धविश्वासका कुरा बढी हुने भएकाले यसको लोप हुनु नै जाति पनि भन्ने गरेका छन्।

संस्कृतिका विषयमा निरन्तर कलम चलाउँदै आएका सञ्जय मित्र संस्कृतिमा रहेका नराम्रा पक्षलाई हटाउँदै जानुपर्ने बताउँछन् । उनले भने, ‘अन्य संस्कृतिभन्दा नितान्त मौलिक झिझियाका गीतमा अन्धविश्वास रहेको भए त्यसको ठाउँमा आधुनिक चेतना र समाजलाई काम लाग्ने कुरा भर्न सकिन्छ।’

गेडहीगुठी माविकी प्रधानाध्यापक रेणु गुप्ता भने झिभिया पर्वमा महिलाको सहभागिता कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्छिन् । यो पर्व अझै लोप भइ नसकेको तर लोपोन्मुख अवस्थामा रहेकाले यसको विस्तारमा स्थानीय सरकार लाग्नुपर्ने उनको सुझाव छ । गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवले कात्तिकमा झिझिया प्रतियोगिता गराउने बताएका छन।

लोक संस्कृति रक्षाका लागि गरुडा नगरपालिका सहयोग गर्न तयार रहेको उनले बताए । संस्कृतिप्रेमी केही व्यक्तिले असोजमा मनाइने झिझिया र कात्तिकमा मनाइने सामाचकेवा जोगाउने अभियान चलाएका छन् । स्थानीय सरकारलाई यी पर्व बचाउन आफूहरूले निरन्तर आग्रह गर्दै आएको बज्जिका साहित्य संगम रौतहटका कोषाध्यक्ष किशुनदयाल यादव बताउँछन्।

प्रकाशित: ३० आश्विन २०७५ ०१:३६ मंगलबार

तराई–मधेस दसैं भिझिया