समाज

नसर्ने रोगको प्रकोप बढ्दै

काठमाडौं – घरघरको व्यथाका रुपमा नसर्ने रोग देखापरेको भन्दै विज्ञले समयमै यसको प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह गरेका छन्।

मुटु, मिर्गाैला, दम, मधुमेह, रक्तचाप, मानसिक स्वास्थ्य, श्वासप्रश्वासजस्ता समस्या पछिल्लो समय घरघरको रोगका रुपमा देखा परेको छ । यी नसर्ने रोगका रोगी कति छन् यकिन तथ्यांक छैन । सरुवा रोगले भन्दा नसर्ने रोगका कारण हुने मृत्यु पनि बढिरहेको बताइन्छ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) र नेपाल एनसिडी एलायन्सद्वारा संयुक्तरुपमा आयोजित एक कार्यक्रममा सहभागीहरुले नसर्ने रोग रोकथामका लागि नयाँ नीति ल्याउनुपर्ने बताए।

पछिल्लो समय मन्त्रालयले आफ्नो बजेट विनियोजन गर्दा ८५ प्रतिशत रोग उपचार र १५ प्रतिशत रोग रोकथामका लागि खर्च गर्ने गर्दछ । रोकथामका लागि कम रकम विनियोजन गर्दा रोग लागेपछि मात्र उपचार गर्न स्वास्थ्य संस्थामा बिरामीको संख्या बढिरहेको जनस्वास्थ्य विज्ञको भनाइ रहेको छ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले धेरैजसो तयारी खाद्य वस्तु खाने प्रवृत्तिले नसर्ने रोगी बढिरहेको चर्चा गर्दै खानपान, रहनसहन र शारीरिक क्रियाकलापमा ध्यान दिनुपर्ने बताए।

पछिल्लो समय सरकारले विशेष गरी नसर्ने रोग (मुटु, मिर्गाैला, क्यान्सर) को उपचारका लागि एक लाख आर्थिक सहयोग प्रदान गर्दै आएको छ । साथै धुवाँमुक्त चुल्हो निर्माणमा ४० हजार अनुदानसमेत दिँदै आएको छ । तर पनि धुलो, धुवाँजस्ता प्रदूषणका कारण नसर्ने रोग बढिरेहको छ।

मरासिनीले भने, ‘नसर्ने रोग हुन नदिन सूर्तीसेवन एवं मदिरापान सेवन छोड्नुपर्छ । स्वस्थकर, पोसिलो खाना र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।’ स्वास्थ्य मन्त्रालय, नसर्ने तथा मानसिक रोग नियन्त्रण शाखाका प्रमुख फणिन्द्रप्रसाद बरालले पछिल्लो समय नसर्ने रोग घरघरको स्वास्थ्य समस्याका रुपमा देखा परेको चर्चा गर्दै नसर्ने रोगका बारेमा सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए।

जनस्वास्थ्य विज्ञ डा. केदार बरालले नसर्ने रोग नियन्त्रणका लागि नयाँ नीतिको आवश्यकता औंल्याउँदै त्यस्तो रोगका बारेमा जनचेतना जगाउन आवश्यक रहेको बताए।

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले नसर्ने रोगमध्ये मुटुको रोगीको संख्या बढिरहेको बताए । उहाँले एक सर्वेक्षणले ९५ प्रतिशत जनतालाई मुटुरोगबारे थाहा नभएको देखिएको बताए।

मधुमेह रोग विशेषज्ञ डा. प्रदीपकृष्ण श्रेष्ठले पछिल्लो समय पेटमा सेतो बोसोको मात्रा बढेका कारण मधुमेहका रोगी बढिरहेको पाइएको बताए । बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जनस्वास्थ्यविद् किशोर प्रधानांगले महिला क्यान्सर रोगीको संख्या बढिरहेको बताए । उनले क्यान्सर रोगीलाई दिइने सहयोग पाँच लाख पु¥याउनुपर्ने सुझाव दिए।

आयुर्वेद चिकित्सक सरिता श्रेष्ठले आयुर्वेदको नियमलाई पालना गर्न सके पनि नसर्ने रोगको जोखिम कम हुने जनाइन्।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सूर्तीजन्य पदार्थ र मदिरापान नियन्त्रणमा विषेश ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । प्राडा शरद वन्तले सरुवा रोग घटेर नसर्ने रोग बढेको नभई नसर्ने रोगको संख्या बढेको जानकारी दिनुभयो।    (रासस)

प्रकाशित: ३० आश्विन २०७५ ०१:१५ मंगलबार

नसर्ने_रोग विज्ञ