समाज

बलात्कृत बालिकाको उपचारका लागि आर्थिक सहयोग

रोल्पा – गत भदौ ५ गते बलात्कृत भएकी साढे ६ वर्षीय एक बालिकाको उपचारका लागि सहयोग रकम जुटेको छ। आर्थिक अवस्थाले कमजोर उनको उपचारमा खर्च अभाव भएको समाचार प्रकाशित भएपछि सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो।

विदेशमा रहेका रोल्पाली युवाहरूको साझा संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले संकलन गरेको २२ हजार रकम समाजका सल्लाहकार काशीराम डाँगी र खेम बुढाले बालिकाको घरमै पुगेर रकम हस्तान्तरण गरेका थिए। ‘पैसा भयो अब त दशैं पछि फेरि छोरीलाई औषधि गर्न लैजान्छु।’ सहयोग रकम बुझेपछि बालिकाकी आमाले भनिन्।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष सन्दीप थापाका भन्छन, ‘बलात्कृत बालिकाको उपचारमा खर्च अभाव’ सम्बन्धी समाचार सञ्चार माध्यममा प्रकाशित भएको देखेपछि रकम संकलन गर्न सुरु गरिएको थियो। बालिकाकी आमाका अनुसार आर्थिक अवस्था कमजोर भएकाले नियमित उपचारमा समस्या भइरहेको छ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला बाल कल्याण समितिको आपतकालिन कोषमा ४ लाख ६० हजार बढि रकम हँुदा हुँदै पनि समितिले उपचार खर्चका लागि एनजीओ गुहारेको आरोप लागेको थियो। बलात्कार भएको केही समयपछि बालिका बिरामी परी अस्पताल पुर्याएपछि मात्र उनी यौन हिंसामा परेको परिवारले थाहा पाएका थिए। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बलात्कारका आरोपित १५ वर्षीय बालकलाई पक्राउ गरी सुधार गृह पठाइएको छ।

प्रकाशित: २९ आश्विन २०७५ ०७:५४ सोमबार

बालिका उपचार