समाज

बास्तोलाको अन्त्येष्टि

काठमाडौं – नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। २०६९ पुस १४ गते मस्तिष्कघात भई अचेत अवस्थामा रहेका बास्तोलाको शनिबार साँझ उनकै निवास खुमलटारमा निधन भएको थियो।

अन्त्येष्टिअघि उनको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो। सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाएर सम्मान प्रकट गरेका थिए भने नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्कासहितका नेताकार्यकर्ता पार्टी कार्यालय पुगेर सम्मान प्रकट गरेका थिए।

विद्यार्थी जीवनदेखि राजनीतिक यात्रा प्रारम्भ गरेका बास्तोला नेपाली कांग्रेसको तरुण संगठन प्रजातान्त्रिक समाजवादी युवा लिग गठनसँगै प्रजातन्त्र स्थापनाको आन्दोलनमा सक्रिय थिए।

बीपी कोइरालाको निर्वासित जीवन सुरु भएपछि सशस्त्र संघर्षको तयारीमा संलग्न उनी २०३६ सालको आममाफीपश्चात स्वदेश फर्केर संगठन सुदृढीकरण अभियानमा सक्रिय भएका थिए। कांग्रेसको नेतृत्वमा तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी निर्माण गर्ने पृष्ठभूमि तयार गर्नमा महत्वपूर्ण भूमिका खेलेका बास्तोलाको निधनले नेपाली राजनीतिले एक वौद्धिक, निष्कलंक, प्रखर र क्रान्तिकारी नेता गुमाएको कांग्रेसले जनाएको छ।

कांग्रेसले उनको सम्मानमा तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झन्डा आधा झुकाउने तथा शोक/श्रद्धाञ्जलिका कार्यक्रमबाहेक पार्टीका अरू सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । सोमबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गर्दै कांग्रेसले १३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गर्ने जनाएको छ।

प्रकाशित: २९ आश्विन २०७५ ०१:४२ सोमबार

नेपाली_कांग्रेस चक्रप्रसाद_बास्तोला