जाजरकोट- उपप्राध्यापक नियुक्तिको विषयलाई लिएर विवाद हुँदा क्याम्पसका प्रमुख माथि हातपात भएको छ। जिल्लाको नलगाड नगरपालिकामा रहेको नलगाड क्याम्पसका प्रमुख कालीबहादुर पुन माथी हातपात भएको हो।
कर्णाली प्रदेश सभाका सांसद तथा क्याम्पस सन्चालक समितिका अध्यक्ष गणेशप्रसाद सिंहको अध्यक्षतामा बसिररहेको बैठकमा उपप्राध्यापक र लेखापाल नियुक्तिको विषयमा विवाद हुँदा त्रिभुवन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक नारायण बहादुर सिंह र उनका समर्थकहरुले आफु माथि हातपात गरेको प्रमुख पुनले बताए। पुर्वप्रधानाध्यापक सिंहलाई क्याम्पसमा उपप्रध्यापक बनाउने र उनकै भाईका छोरालाई लेखापाल बनाउने विषयमा छलफल सुरु हुँदा नियमानुसार उक्त निर्णय गर्न नमिल्ने बताएपछि विवाद सुरु भएको र आफुमाथि हातपात भएको उनले बताए। प्रमुख पुनले आफुमाथि ज्यान मार्ने तरीकाले हातपात भएपछि स्थानीय इलाका प्रहरी कार्यालय दल्लीमा सुरक्षाको लागि भागेर गएको समेत बताए।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर उक्त क्याम्पसमा शिक्षा शास्त्रमा स्नातक तहमा पठन पाठन भैरहेको र समाजशास्त्र विषय लिएर स्नाकोत्तर गरेका सिंहलाई उपप्रध्यापकमा नियुक्त गर्न नमिल्ने भनेपछि आफु माथि कुटपिट गरिएको पुनले बताए। तर नारायणवहादुर सिंहले भने क्याम्पस प्रमुख पुनले क्याम्पसको रकम हिनामिना गरेको, नैतिक पतन देखिने कार्यहरु गरेकोले विद्यार्थीहरुले कार्यकक्षबाट बाहिर निकालेको बताए।
उनले क्याम्पसमा मनपरी गर्ने, अनैतिक कार्यकहरु गर्ने गरेको विषयमा क्याम्पस सन्चालक समितिको अनौपचारिक बैठकको छलफलका क्रममा आफुले केहि कुरा भन्न खोज्दा प्रमुख पुनले मोवाइलमा रेकर्ड गर्न खोजेपछि विद्यार्थी र आफुले मोवाइल खोसेको बताए। आफुले स्थापना गरेको क्याम्पसको हितका बारेमा कुरा गर्दा आफुमाथि गलत आरोप लागेको सिंहले बताए। उनले आफुलाई उपप्राध्यापक बनाउने विषयमा कुनै कुरा नउठेको पनि उनले बताए। जिल्ला प्रहरी प्रमुख रविन्द्र सिंहले वैठकमा सामान्य विवाद भएको तर हातपात नभएको बताए।
प्रकाशित: २८ आश्विन २०७५ १२:५९ आइतबार