समाज

व्यासलाई विश्व वेद पुजन मुख्यस्थल घोषणा गरिने

पोखरा– चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहँुको व्यासक्षेत्रलाई विश्व वेद पूजनको मुख्यस्थल घोषणा गर्न लागिएको छ। वेद–अनुयायी प्रतिष्ठान नेपालले आगामी कात्तिक १ गतेदेखि एक महिना आयोजना गर्न लागेको ओमकार परिवार महामिलन कार्यक्रममा यस्तो घोषणा गर्ने बताइएको छ। 

प्रतिष्ठानका मूल संरक्षक दामोदर बाबाका अनुसार व्यास गुफा परिसरमा विश्व ओमकार परिवारका ८८ हजार साधुसन्त एवं सर्वसाधारणको महामिलन गराउन लागिएको छ। ‘ओमकार परिवारलाई एउटै सुत्रमा बाँधी मानवीय भेद्भाव, हत्या हिंसा र कुविचार परित्याग गरी एकाकार बन्दै वेदव्यासका परोपकारी भावलाई उजागर गर्न महामिलन गर्न लागिएको उनले जानकारी गराए। 

एक महिनाभर विशेष प्रवचनका साथै वेदसहित विभिन्न पुराण, रुद्री, चण्डी आदिको पूजा एवं पाठ पारायणका साथै वैदिक सनातन विधिअनुसार शालिग्राम तथा पञ्चायन देवताको षोडशोपचार विधिले पूजा गर्ने आयोजकले जनाएको छ। 

प्रतिष्ठानको टोलीले पोखरासहित देशका प्रमुख शहर एवं धार्मिक तीर्थस्थलमा पुगी महामिलनको प्रचारप्रसारसहित साधुसन्तलाई आमन्त्रण गरिसकेको छ। साधुसन्तलाई एक पटक व्यासभूिम आमन्त्रण गरी यहाँको धार्मिक एवं साँस्कृतिक महत्वबारे प्रचारप्रसार समेत गर्ने प्रतिष्ठानको लक्ष्य छ। 

यस क्षेत्रमा पराशर आश्रम, सत्यवतीको प्रशव वेदना झल्काउने शिला, सत्यवतीकी आमा मत्स्यगन्धा झल्काउने शिला, राजा उपरीचरले पालेको बाज पक्षी झल्काउने शिला, कहिल्यै नसुक्ने सत्यवती कुण्ड, व्यास गुफा, मत्स्योदरी कुण्डजस्ता धेरै ऐतिहासिकस्थल प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। वेद व्यासको जन्मस्थलको महीमा र गरिमालाई देश विदेश पु¥याउन पनि महामिलन अत्यन्त उपयोगी बन्ने अपेक्षा रहेको प्रतिष्ठानका सदस्य हिमलाल पौडेलले बताए। यस क्षेत्रमा २०७३ कात्तिक १ गतेदेखि ०७४ चैतसम्म १८ महिने अखण्ड हरिनाम सङ्कीर्तन गरिसकिएको छ।

यहाँको धार्मिक एवं साँस्कृतिक महत्वलाई उजागर गर्न व्यास क्षेत्र विकास कोषको सक्रियतामा करीब २७ करोड रुपैयाँको लागतमा १०८ फिटको तामाको मूर्तिसहित विभिन्न संरचना निर्माण गर्ने योजना अघि सारिसकिएको छ। यस क्षेत्रको लगभग एक सय रोपनी क्षेत्रफल समेट्ने गरी पुस्तकालय, वाचनालय, प्रवचन गृह, गुरुकुल आश्रम, धर्मशाला, व्यापारिकस्थलका साथै २७ अवतारका व्यास, श्री गणेश, सत्यवती, पराशर र दाशराज माझीको मूर्ति निर्माण गरिने भएको छ। 

पर्यटकीय नगरी पोखराबाट जम्मा ५० किलोमिटर दूरीमा रहेको यस क्षेत्रमा प्रस्तावित मूर्तिसहितका संरचना निर्माण भएसँगै पोखरा आउने पर्यटकलाई न्यूनतम एक दिन यस ठाउँमा पु¥याउन सकिने भएको छ। व्यास क्षेत्रसहित तनहुँका देवघाट, ढोरबाराही, छाब्दी बाराही, थानीकोट, गलेखाम कोटभैरवी, आँधीमूल, तीनखोलेदेवी, तनहुँकालिका, अकलादेवीलगायत मठमन्दिर पनि यहाँका थप आकर्षण हुन्।रासस

 

प्रकाशित: २८ आश्विन २०७५ ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App