समाज

भूकम्पबाट विस्थापित परिवार दसैँ मनाउन गाउँ फर्किए

रसुवा– भूकम्पको कारण विस्थापित भएका भूकम्प पीडित दसैँ मनाउन गाउँ फर्किएका छन्। भूकम्पपछिको चौथो दसैँ मनाउन उनीहरू गाउँ आएका हुन्। भूकम्पपछि तीनवटा दसैँ टहरामा मनाएकोमा यो पटकको दसैँ भने नयाँ घरमा मनाउने तयारी भएको हाकुका विस्थापित राम बहादुर तामाङले बताए। ‘गाउँमा नयाँ घर बनेको छ, उनले भने, यो वर्षको दसैँ हामी नयाँ घरमा मनाउँछौँ।’

धुन्चेमा विस्थापित जीवन बिताइरहेका २५ घरधुरी गाउँ फर्किएका आमाछोदिङ्मो गाउँपालिका–२ हाकुका सोम बहादुर तामाङले बताए। ‘अरु बेलामा हाम्रो भेट हुँदैन, उनले भने दसैँको समयमा छरछिमेकीसँग पनि भेट हुन्छ।’

गाउँबाट विस्थापित भएकाहरू फरक फरक क्याप्पमा बस्ने भएकाले अरु समय भेट नहुने हाकुकी याङजेन तामाङले बताइन्। ‘भूकम्प जानु पहिले गाउँमा सँगै रहन्थ्यौ, उनले भनिन्, भूकम्पले गाउँका मान्छे पनि कता कता पुगेका छन्।’

४१ महिनाअघि गएको भूकम्पका कारण यत्रतत्र छरिएर बसिरहेका विस्थापित चाडपर्वमा भने गाउँ जाने गरेका छन्। गाउँमा सुख्खा पहिरो झरेपछि जिल्लाका हाकु, डाँडागाउँ, ठूलोगाउँ लगायतका क्षेत्रबाट चार सय भन्दा बढी घरधुरी विस्थापित हुन पुगेका थिए।

हाकुबाट विस्थापित भएर जिल्लाको विभिन्न स्थानमा बसिरहेका उनीहरू खेतीपाती लगाउन र चाडपर्व मनाउन गाउँ जाने गरेका छन्। लामो समयसम्म अनुदान सम्झौता नहुँदा उनीहरू समस्यामा परेका थिए।

अनुदान सम्झौता भएपछि जोखिम मोलेरै भएपनि सामग्री पुर्‍याएर घर निर्माण भएको छ। आमाछोदिङ्मो गाउँपालिका १ र २ मा पर्ने हाकुमा माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाले सडक निर्माण गरेसँगै पुनर्निर्माणमा सहयोग पुगेको थियो।

हाकुबेँसी, ठुलोहाकु र सानोहाकु गाउँबाट विस्थापित भएका नागरिक गाउँ फर्किएर निजी आवास निर्माण गरेसँगै अधिकांस परिवार त्यहीँ रहेका छन्। दुई सय भन्दा बढी परिवार अझै पनि विस्थापित जीवन बिताउँदै छन्।

विशेषगरी उत्तरगया गाउँपालिका–१ खाल्डेमा हाकुका विस्थापित बसिरहेका छन्। खालडेमा नै एकीकृत बस्ती निर्माण गरेर बस्ने योजना रहेको विस्थापितहरू बताउँछन्। गाउँमा फर्केर जाँदा पहिरोको डर रहेको हाकुका विस्थापित छेकु लामाले बताए।

प्रकाशित: २८ आश्विन २०७५ ०६:४३ आइतबार

भूकम्प घर दसैं