समाज

श्रद्धाञ्जलीका लागि बाँस्ताेलाकाे शव केन्द्रीय कार्यालयमा राखिने, अाजै साँझ अन्त्येष्टि

काठमाडाैं - शनिवार निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज दिउँसो साढे १ बजेदेखि ४ बजे सम्म पार्टी केन्द्रिय कार्यालयमा राखिने भएको छ। कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार श्रद्धाञ्जली पश्चात आजै बाँस्तोलाको पशुपति आर्यघाटमा अन्तिम संस्कार समेत गरिने छ। ७४ वर्षीय बाँस्ताेलाकाे शनिवार राति ९ बजेर २० मिनेटमा खुमलटारस्थित अफ्नै घरमा निधन भएको थियाे। बाँस्तोलालाई २०६९ पुस १४ गते मोरङ विराटचोकमा कुलपूजा गर्ने क्रममा मस्तिष्काघात भएको थियो। त्यसयता उनी अचेत अवस्थामा थिए। उनका श्रीमती र दुर्इ छोरी छन्। काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री समेत रहेका बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए।

यसैबीच कांग्रेसले आजै देशव्यापी रुपमा एकै दिन सबै जिल्ला प्रशासन कार्यालय मार्फत केन्द्र एवं प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने पूर्व निर्धारित कार्यक्रम समेत स्थगित गरेको छ। वर्तमान सरकार गठन भएपछि बजार मूल्यमा भएको वृद्धि र राष्ट्रव्यापी कर आतङ्क तथा चाडपर्वको मुखमा आएर बजार मूल्य झनै चर्को ढंगले बढेको सन्दर्भमा सरकारलाई सचेत गराउँदै मूल्य नियन्त्रणमा दवाव कांग्रेसले एकै दिन ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेकाे थियाे। बाँस्तोलाको निधनका कारण हाललाई कार्यक्रम स्थगित गरिएको कांग्रेसले जानकारी दिएको छ। 

प्रकाशित: २८ आश्विन २०७५ ०५:२७ आइतबार

कांग्रेस चक्रप्रसाद_बाँस्तोला