समाज

दसैंमा पनि तलब पाएनन् कर्मचारीले

बैतडी – दसैंको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन्। प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन्। दसैंमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन्।

दसैंको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्रका कर्मचारीले साउनदेखि तलब पाएका छैनन्। यस्तै भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका कर्मचारीले पनि तलब पाएका छैनन्। दसैंअघि तलब पाउने आश मरिसकेको भेटनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्रका पशुसेवा प्राविधिक बिसन विष्टले बताए।

डिभिजन वन कार्यालय, साविकको भूसंरक्षण कार्यालयका कर्मचारीले पनि तलब पाउन सकेका छैनन्। प्रदेश सरकार मातहतका केही कार्यालयका कर्मचारीले तलब पाएको भए पनि चार कार्यालयको अख्तियारी नै नआएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले जानकारी दिए। उनले भने, ‘अहिलेसम्म अख्तियारी नआएका कार्यालयको दसैंअघि अख्तियारी आउने सम्भावना कम छ।’ प्रदेश सरकार रहेका कार्यालयको तलब नपाउँदा मुख्य चाड दशैँ तिहार नै खल्लो हुने चिन्तामा कर्मचारी छन्।

यसैबीच सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका बैतडीका सरकारी कार्यालय कामबिहीन बनेका छन्। नयाँ संरचनाअनुसार बैतडीमा स्थापना भएका कार्यालयले कार्यक्रम र अख्तियारी नपाउँदा कामबिहीन बनेका हुन्। रासस

प्रकाशित: २८ आश्विन २०७५ ०५:०१ आइतबार

दसैं तलब कर्मचारी