समाज

खाजा खुवाउने निहुँमा किशोरीको बलात्कार

मकवानपुर– देशैभर बलात्कारका घटना बढिरहेको बेला मकवानपुरमा किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। १५ वर्षीया किशोरीलाई खाजा खाउँ भनेर होटलमा लगी बलात्कार गरेको आरोपमा हेटौंडा १ का ३० वर्षीय कमलराज गिरीलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो। 

मकवानपुरको भीमफेदी गाउँपालिकाकी किशोरीलाई गत मंगलवार हेटौडा १० स्थित मध्यमाञ्चल गेष्ट हाउसमा ल्याएर उनले बलात्कार गरेका थिए।

आरोपीलाई मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रमुख बुद्धिराज गुरुङले बताए। उनका अनुसार किशोरी ९ कक्षामा अध्ययनरत छात्रा हुन्।

भीमफेदीबाट छोरी एकाएक हराएपछि उनका अभिभावकले स्थानीय प्रहरी चौकी भीमफेदीमा खबर गरेका थिए। यता, पीडित किशोरी रुदै आफैं जिल्ला प्रहरी कार्यालयमा गई बलात्कार भएको जनाएपछि प्रहरीले आरोपित गिरीलाई पक्राउ गरेको थियो।

त्यसो त मकवानपुरमा बलात्कारका घटना पछिल्लो तीन बर्षमा बृद्धि हुँदै भएको छ। आर्थिक वर्ष २०७२÷७३ मा बलात्कार(जबरजस्ती करणी)का १९ वटा मुद्धा दर्ता भएको प्रहरीको तथ्याङ्क छ। 

साथै जबरजस्ती करणी उद्योग(जबरजस्ती करणी प्रयास)का १२ मुद्धा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष २०७३÷७४ मा जबरजस्ती करणीको संख्या बढेर २२ मुद्धा दर्ता भएको थियो भने जवरजस्ती करणी उद्योगमा ९ वटा मुद्धा दर्ता भएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा ५० वटा बलात्कारको घटना दर्ता भएको थियो।

प्रकाशित: २७ आश्विन २०७५ १४:५० शनिबार

बलात्कार किशोरी