समाज

विद्युतिय हाजिरीले कर्मचारी नियमित

जुम्ला – जुम्लाका स्थानीय तहमा विद्युतिय हाजिरी सञ्चालनमा ल्याएसँगै कर्मचारी कार्यालयमा नियमित हुन थालेका छन्। पहिले एउटै रजिष्टरमा हाजिर गर्नुपर्ने भएकोले महिनामा एक पटक हाजिर गर्ने र कार्यालयमा निकै कम उपस्थिती हुुने समस्या बल्झिएको थियो। यहाँका स्थानीय तहमा विद्युतीय हाजिरीको प्रयोग बढ्दै गएको हो।

यहाँको तातोपानी र गुठिचौर गाउँपालिकामा विद्युतिय हाजिरीको प्रयोग भइरहेको छ।  गत वर्षहरूमा हाजिर लगाउने सिस्टम नहुँदा कर्मचारीको निकै लापारवाही बढेको पाइन्थ्यो, तर अहिले प्रत्यक्ष रुपमा कर्मचारीको उपस्थितिको निगरानी गर्न सकिने भएको स्थानीय तहले जानकारी दिएका छन्।  विद्युतीय हाजिरीले सेवा प्रवाहलाई गुणस्तर बनाउनुका साथै कर्मचारीलाई नियमित गर्ने महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको गुठिचौर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज शर्माले जानकारी दिए।

यो प्रविधिले कर्मचारीलाई अनुशासित बनाउने, सेवाग्राही उत्तरदायी बनाउने कार्यमा ठुलो सहयोग पुगेको छ, प्रमुख प्रशासकिय अधिकृत शर्माले भने,“कर्मचारीको मनपरी र लापारवाही घटेको छ, कर्मचारीको नियमितताले सेवाग्राहीको काम गुणस्तर बन्दै गइरहेको छ, कर्मचारी हराउने र कार्यालयमा नआउने समस्या दुर भएको छ।” गुठिचौर गाउँपालिकाले विद्युतिय हाजिरी र सीसी क्यामेरा जडान गरेको हो। कर्मचारीलाई विद्युतीय हाजिरीले अनुशासनमा राख्न बाँध्ने काम गरेको छ भने आफ्नो कर्तव्यप्रति र कार्यालय समयप्रति सजग बनाएको उनले बताए। 

विद्युतीय हाजिरीका कारण सेवाग्राहीको गुनासो कम सुनिन् थालेको भन्दै उनले हेर्दा सामान्य लाग्ने विद्युतिय हाजिरीले कार्यालयको सुशासनमा राम्रो काम गरेको छ।  अहिले निर्धारण गरिएको समयमा कार्यालयमा नआएको खण्डमा अटोमेटिक रुपमा गयल हुने गर्छ।  ‘गयल भए तलब काटिन्छ, त्यही डरले कर्मचारी जता भएपनि हाजिर गर्न अनिवार्य कार्यालयमा पुग्ने गर्छन। 

गाउँपालिका स्तरमामा डिजिटल प्रविधि जडानले कामकाजमा सहजता गरेको शर्माको भनाइ छ। जनप्रतिनिधिलाई जनतामैत्री बनाउन गाउँपालिकाको केन्द्र धलमुडिमा डिजिटल प्रविधि जडान गरी संचालनमा ल्याएको छ। प्रत्येक वडा तथा गाउँपालिकामा प्रत्येक जनप्रतिनिधि र कर्मचारी सीसीटिभी क्यामराको निगरानीमा रहने गर्छन्।

तातोपानी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाई विद्युतिय हाजिरी कर्मचारी नियन्त्रण गर्ने राम्रो माध्यम भएको बताउँछन। उनले भने,“कर्मचारी हाजिर भए नभएको बारेमा रजिष्टार पल्टाउनु पर्दैन्, विद्युतिय हाजिरीले देखाएबमोजिमको तलब पाउँछन् हाजिर हुन नसकेको दिनको तलव कट्टा हुन्छ।

गाउँपालिकालाई नै सूचना, प्रविधि मैत्री र डिजिटलमय बनाउने लक्ष राखिएको छ।   जनता र सेवाग्राहीबीचको सम्बन्ध प्रगाड बनाउन पछिल्लो समयमा स्थानीय तहले विभिन्न विकल्प खोज्दै आएका छन्। जनता  मैत्री स्थानीय तह बनाउने अभियानमा गाउँपालिका जुटेको उनले बताए।   

प्रकाशित: २७ आश्विन २०७५ ०९:४० शनिबार

स्थानीय_तह विद्युतिय_हाजिरी कर्मचारी