समाज

विदेशमा बेपत्ता भएका परिवारलाई ‘न दशैं, न खुसी’

धादिङ - दशैंको रौनक शहरदेखि गाउँसम्म छाएको छ। टाढा-टाढा रहेका परिवार, आफन्तजनको आगमनले दशैलाई झनै रोचक बनाएको छ। परिवारसँग बसेर रमाइलो गर्ने, राम्रो लगाउने र मिठो खानका लागि जोहो गर्न विदेश हिडेकाहरु समेत घर फर्कने क्रम बढेको छ। परिवारमा खुशी साटासाट गरेर मनाइने पर्वको रुपमा लिइने दशैंको उत्साह विदेश गएर बेपत्ता गएका परिवारजनमा भने खासै देखिएको छैन। धन कमाएर परिवारसँग खुसी साट्ने प्रण गरेर रोजगारीका लागि विदेशीएकाहरु बेपत्ता भएपछि परिवारमा न दशैं आएको छ न खुशी नै छाएको छ।

नीलकण्ठ नगरपालिकाकी खिनकुमारी लम्साललार्इ छोरासँगै चाडपर्व मनाउन नपाएको १३ वर्ष भइसक्यो। छोरा आउने आशमा कयाैं वर्षका दशैं विताएकी लम्साल अझै पनि छोरासँगै बसेर दशैं मनाउन पाइन्छ की भनेर कुरी बसेकी छन्।हरेकको घरमा आफन्तजन आउँदा आफूलाई भने दू:ख लाग्ने गरेको लम्साल बताउँछिन्। ‘छोरा मलेसियामा बेपत्ता भएको पनि १३ वर्ष भइसक्यो छोरासँग बसेर रमाइलो गर्ने इच्छा कुनै दशैंमा पूरा हुन सकेन’, लम्सालले भनिन्, ‘विदेश जानु अघि दशैं मान्न आउँछु भनेर बचन दिएर मलेसियाको बाटो रोजेकाे थियाे।’मलेसिया गएका खीनकुमारीका छोरा कृष्णप्रसाद लम्सालको अहिले सम्म अत्तोपत्तो छैन। 'न फोनमा नै कुरा गर्न पाइन्छ न घर फर्केर नै आएकाे छ।', खिनकुमारीले भनिन्। छोराे घर फर्कन्छ कि भन्ने आशैआशमा परिवारजनहरु बसिरहेका छन्। हरेक चाडपर्वमा सबै घरपरिवारका सदस्यहरु साथमा नहुँदा मन खिन्न हुने गरेको लम्साल बताउँछिन्। 

यता सिद्धलेक गाउँपालिका –६ की देवकी पण्डितको परिवारमा पनि दशैंको रौनक खासै लागेको छैन। छोरा दामोदर पण्डित मलेसियामा बेपत्ता भएदेखि परिवारमा दशैंको रौनक कत्ति पनि छाएको छैन। हरेक वर्ष रुवाएर दशैं कटाउने गरेको पण्डितले बताइन्। ‘दशैं आएपछि छोरा खुशी हुन्थ्यो, तर उ नै बेपत्ता छ, मनमा खुशी छैन’ पण्डित भन्छिन्, ‘रुवाउने चाडपर्व कहिले नआइदियोस्।’ दामोदर मलेसियामा बेपत्ता भएको १२ वर्ष भइसक्यो, खोजीका लागि विभिन्न निकाय धाउँदा समेत कुनै अत्तोपत्तो नभएकाे उनले बताइन्। हरेक दशैंमा छोरा आउने प्रतिक्षामा देवकी बाटो कुरेर बस्छिन् तर छोरो कहिल्यैकाे दशैंमा आएको छैन।

आमा आउने बाटो कुरेर बसीरहेका छन् तर आमाको अहिले सम्म कुनै अत्तोपत्तो छैन। 'एक दशैं, अर्को दशैं भन्दै चार दशैं बितिसक्यो आमालाई कुरेको तर आमा आउनुभएन, यो दशै पनि रुवाबासीमा नै सकिने भयो।

नीलकण्ठ नगरपालिका –२ का सानुबाबु पौडेलको परिवारमा पनि दशैंको रौनकले छोएको छैन। श्रीमती अस्मिता पौडेल वैदेशिक रोजगारका लागि कुवेत गएको ५ बर्ष भयो तर उनी अहिलेसम्म सम्पर्कमा आएकी छैनन्। छोराहरु आमा आउने बाटो कुरेर बसीरहेका छन् तर आमाको अहिले सम्म कुनै अत्तोपत्तो छैन। 'एक दशैं, अर्को दशैं भन्दै चार दशैं बितिसक्यो आमालाई कुरेको तर आमा आउनुभएन, यो दशै पनि रुवाबासीमा नै सकिने भयो।' छोराहरुको यस्तो गुनासो सुन्दैमा दिनहरु बित्छ सानुबाबुको। आर्थिक अवस्था सुधार गर्नको लागि विदेशीएकी अस्मिताले छोराहरुलाई फोन गर्दा दशैंमा आउँछु, भनेकी थिईन तर छोराहरु दशैं आएपछि हाम्री आमा कहिले आउँछिन भनेर सोध्ने गरेको पौडेलले बताए।

यी त प्रतिनिधि पात्र मात्र हुन्। धन कमाएर परिवारलाई खुशी बनाउने अपेक्षा दिएर विदेशीएकाहरु वेपत्ता भएपछि परिवारमा दशैंको रौनक होइन, पीडा थपिएको छ।  विदेशमा बेपत्ता भएका आफ्नो सन्तान घर फर्कने आशामा बसेका उनीहरुको आशा यसपाली पनि निराशामा परिणत भएको छ। खुशी, आत्मियता र सम्बन्धलाई दरिलो बनाउने प्रण गर्दै विदेशीएकाहरु विदेशी भूमिमा नै वेपत्ता हुनु परेको छ। विदेश उडाउने बेलामा बगाएको आँशु अहिले सम्म रोकिएको छैन। नेपालमा रोजगारीको अवसर नहुँदा लाखौँ नेपालीहरु वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता रहेको छ।

धन कमाएर परिवारलाई खुशी बनाउने अपेक्षा दिएर विदेशीएकाहरु वेपत्ता भएपछि परिवारमा दशैंको रौनक होइन, पीडा थपिएको छ।  विदेशमा बेपत्ता भएका आफ्नो सन्तान घर फर्कने आशामा बसेका उनीहरुको आशा यसपाली पनि निराशामा परिणत भएको छ।

धादिङबाट बैदेशिक रोजगारमा गएका मध्ये २३ जना अझै पनि बेपत्ता भएका छन्। जसमा २० पुरुष र ३ महिला रहेका छन्।  त्यस मध्ये सबैभन्दा बढी मलेसियामा बेपत्ता भएका छन्। सुरक्षित आप्रवासी सामी परियोजना संचालन गरिरहेको चन्द्रज्योति एकिकृत ग्रामीण विकास समाज सिड्स धादिङले अभिलेखीकरण गरेको तथ्याङ्क अनुसार बेपत्ता हुनेहरुमा सबैभन्दा बढी मलेसियामा जानेहरु रहेको सामी परियोजनाका दिलबहादुर रम्तेलले बताए।

जिल्लाको उत्तरी क्षेत्रबाट विदेश जानेहरु बेपत्ता हुने क्रम बढ्दै गइरहेको छ। झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, कुम्पुर, त्रिपुरेश्वर, बसेरी, जोगीमारा, थाक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटार लगायत र नीलकण्ठ नगरपालिकाबाट विदेश गएकाहरु बेपत्ता भएको सामी परियोजनाले बताएकाे छ। परिवारका सदस्यले बेपत्ता भएका परिवारका सदस्यलाई उद्धार गर्नका लागि सूचना तथा परामर्श केन्द्रमा उजुरी दिने गरेका छन्। सिड्स धादिङले सामी परियोजना अन्तर्गत सूचना तथा परामर्श केन्द्र स्थापना गरि बैदेशिक रोजगारीमा जाने, आउनेलाई परामर्शको कार्य संचालन गरिरहेको छ।

प्रकाशित: २७ आश्विन २०७५ ०६:२५ शनिबार

बेपत्ता दशैं बैदेशिक_राेजगार