समाज

चाडपर्वमा यात्रुको बिचल्ली, भाडा दोब्बर असुल्दै सवारी

पाल्पा – चाडपर्वको समयमा तोकिएको भाडादरभन्दा दोब्बर शुल्क असुल्ने सवारी साधन कारबाहीमा परेका छन्। पृथ्वी यातायात व्यावसायी समितिका पर्यटक बस मनपरी शुल्क लिएको भन्दै कारवाहीमा परेका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले निरन्तर जिल्लाका विभिन्न स्थानमा छड्के सवारी जाँचका क्रममा बढी भाडा लिइएको पाइएको हो। प्रहरी सहायक निरीक्षक डम्बर गिरीले पोखराबाट बुटवल र लुम्बिनीका लागि छुटेका कालोप्लेटका पर्यटक बसमा मनपरी भाडा लिएको पाएको बताए। उनी भन्छन्, ‘पृथ्वी यातायात समितिबाट छुटेका सबैजसो टिकट बैध छैनन्। भाडादर कतै नलेखिएको, भुक्तानीमात्र भनिएको, टिकट काटेर काउन्टरमै राखिदिएको भेटिएको थियो।’ उनले बढि भाडा लिने सवारी साधनबाट भाडा फिर्ता गराएको पनि बताए।

‘टिकट दिन र भाडादर सवारीमा टाँस्न लगाएका छौं’, उनले भने,  ‘सीट क्षमता अनुसारमात्र यात्रु राख्न लगाएका छौं, त्यसो नगरेको पाइए कारवाही गर्छौं।’ उनले जिल्लाको ग्रामीण क्षेत्रका लागि छुट्ने सवारी साधनले सीट क्षमताभन्दा बढी यात्रु र सामाग्री राखेपछि केहीलाई सचेत गरिएको बताए।

ना ६ ख ७०३५ नम्बरको पर्यटक बसले कुनै यात्रुसँग सुनौलीका लागि एक हजार कसैसँग नौ सय रुपैयाँ टिकट शुल्क काटेको भेटिएपछि यात्रुलाई ट्राफिक प्रहरीले भाडा बढी लिएको रकम फिर्ता गराएको हो। यस्तै अन्य दुईवटा सवारी साधनले विदेशी नागरिकसँग मनपरि रुपमा टुर एण्ड ट्राभलको नाममा शुल्क असुल गरी सवारी टिकट काटिएको भेटिएको थियो।

जर्मनबाट नेपाल आएकी लिजाले आफुहरु दुई जनाले लुम्बिनीका लागि १ हजार ८ सय रुपैयाँ भुक्तानी गरेको बताइन्। प्रहरीले एक जनाको सातसयमात्र भाडादर कायम गरिएको भन्दै रकम फिर्ताका लागि बसका सहयोगीलाई आग्रह गर्दा उनीहरुको टिकट काउन्टरले नै राखिदिएको भन्दै फिर्ता गर्न मानेनन्।

सुनौली बाग्लुङको लु १ ख ५६०१ नम्बरको बस गल्लीमा मात्रै १५ जना यात्रु कोचेर सुनौलीबाट बाग्लुङका लागि छुटेको थियो। दिउँसो १ बजे पाल्पाको वगनाशकाली गाउँपालिका–१, मा सवारी चेकिङमा पर्यो। ट्राफिक प्रहरीले यात्रुलाई ओराल्न लगाएपछि १५ जना यात्रुले सडकमा हिँडेर झण्डै एक किलोमिटर दूरी पार गरे। बस एक हजार रुपैयाँ जरिवाना तिरेर यात्रु राखेर पून बाग्लुङतर्फ लाग्यो। बसमा सवार हरिप्रसाद खनालले आफुहरु बाध्यताले गल्लीमा यात्रा गरेको तर यसैमा पनि धेरै दुःख पाएको गुनासो गर्दै थिए।

प्रकाशित: २७ आश्विन २०७५ ०४:५४ शनिबार

चाडपर्व सवारी_साधन भाडादर