समाज

हतियार सहित ४ भारतीय र दुई नेपाली पक्राउ

रौतहट- रौतहट प्रहरीले चाइनिज पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको छ। गए राति चाडपर्व सुरक्षा गस्ती टोलीले भारतको सीमावर्ती क्षेत्रबाट एक बजे चार भारतीय र दुई नेपालीलाई मेड इन चाइना लेखेको अटोमेटिक पेस्तोल तथा एक थान म्याग्जिनसहित पक्राउ गरेको हो।

प्रहरी नायब निरीक्षक कृष्णकुमार बस्नेतको नेतृत्वमा रहेको गस्ती टोलीले परोहा नगरपालिका ८ मोतिपुर नजिक दशगजा क्षेत्रमा गाँजा सेवन गर्दै बसेको अवस्थामा चारैतिरबाट घेरा हाली सबैलाई पक्राउ गरेको हो।

हतियारसहित लागूपदार्थ सेवन गरिरहेका ६ जनैलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतिहारीको गोकुल ग्राम पञ्चायतका २२ वर्षीय कमल साह, घोडासन श्रीपुरका ३२ वर्षीय राकेश पासवान, २८ वर्षीय सन्दीप पासवान र २६ वर्षीय अवधेश चौरसिया तथा धनुषा जिल्लाको फुलबरिया गाउँपालिका १ का ३१ वर्षीय रोहित साह र काभ्रेपलाञ्चोक जिल्ला टिमालका २५ वर्षीय मनोज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि केदार ढकालले जानकारी दिए।

यसैबीच शुक्रबार बिहान ४ बजेतिर नेपालबाट भारततर्फ बीआर १ यू २७५७ नम्बरको सेन्ट्रो कारमा लैजाँदै गरेको अवस्थामा रौतहट प्रहरीले करिब ५ लाख मूल्य बराबरको ४९ कार्टुन मदिरा बरामद गरेको छ। इशनाथ नगरपालिका ६ मठिया महुलिया हुँदै भारततर्फ ठूलो परिमाणमा अवैधरुपमा मदिरा लैजाँदै गरेको अवस्थामा गस्तीको क्रममा रहेको प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

भारतको बिहारमा मदिरा निषेध गरिएको भए पनि विभिन्न नाकाबाट भन्सार छलेर अवैध रुपमा भारततिर मदिराको कारोबार हुने गरेको छ।

प्रकाशित: २६ आश्विन २०७५ ०७:३९ शुक्रबार

हतियार पक्राउ