दोलखा – पर्यटकीय क्षेत्र कालिञ्चोकमा सयौं रोपनी सार्वजनिक जग्गा व्यक्तिको अतिक्रमणको चपेटामा परेको छ। कालिञ्चोक क्षेत्रका सार्वजनिक जग्गा, घाँसे मैदान र चउरहरुमा ‘सरकारी कित्ताकाट’ गरी ढुंगाको गारो लगाएर, कादोलोले खनेर रेखा बनाइनुका साथै ढुंगा, काठका किला लगायतका बस्तु गाडेर भागबण्डा गरी कब्जा जमाइएको हो।
राजधानीबाट नजिकै रहेको र पर्यटनको प्रमुख गन्तव्य बन्दै गएका कारण यस स्थानीय टाठाबाठाहरुले सुन्दर मैदान, डाँडाकाडा अतिक्रमण गर्दै घर टहरा बनाउन थालेका हुन्। सदरमुकाम चरिकोटबाट १७ किलोमिटरको दूरीमा रहेको यो क्षेत्र कालिञ्चोक भगवती मन्दिरका कारण प्रख्यात छ। ३८ सय ४२ मिटरको उचाइमा रहेको टाकुरामा रहेको मन्दिर क्षेत्रबाट देखिने आधा दर्जन बढी हिमश्रृङखला, पर्वत र मैदान लगायतमा पर्यटक लोभिने गर्छन्। मन्दिरको तल्लो क्षेत्रमा कुरी बजार र वरपर हजारौं रोपनी ठुला–ठुला सुन्दर हरियाली मैदान र थुम्काहरु छन्। मैदानको पछाडीको लहरमा जंगल छ। यो क्षेत्र कालिञ्चोक गाउँपालिकामा पर्छ।
कालिञ्चोक क्षेत्र र कुरी बजारको मुख्य प्रवेशद्वार बुकिनडाँडामा ३ सय ओटा घडेरी भागबण्डा गरिएको छ। स्थानीयका अनुसार एक महिना अघि कालिञ्चोक गाउँपालिकाको ५ र ६ नम्बर वडास्थित लापिलाङ र भीमेश्वर नगरपालिकाको १ नम्बर वडास्थित सुष्पाक्षमावतीका डेढ सय बढी स्थानीय त्यहाँ पुगेर बुकिनडाँडाको जग्गाहरु भागबण्डा गरेका थिए। भागबण्डा लगाइएका घडेरीहरु कतिपय खारेर सम्याइसकिएको छ भने कतिपयमा सिमा छुट्याइएको छ। बुकिनडाँडाको पल्लो छेउमा एउटा घर बन्दै छ।
कुरी बजारमा करिब ७० ओटा घर तथा टहराहरु निर्माण भइसकेका छन्। कुनै पनि घर टहराले अनुमती लिएका छैनन्। दुई वर्ष अघि तत्कालिन प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले सिडिओको हैसियतमा आफै अध्यक्ष रहेको कालिञ्चोक मन्दिरको गुठी समिति बैठक मार्फत निर्णय गराएर कुरी बजारका ४० ओटा घरहरुलाई भुबाहल तिर्ने गरी सम्झौता गरिदिएका थिए। उनको यो निर्णय बैधानिक नभएको भन्दै पछि विवादमा समेत परेको थियो।
घ्याङडाँडा क्षेत्रमा समेत सार्वजनिक जग्गा मिच्ने क्रम उस्तै छ। दुई बर्ष अघिसम्म खुल्ला चउर रहेको घ्याङडाँडा क्षेत्रमा एक दर्जन बढी घर र कटेराहरु बनिसकेका छन्। यी घर र कटेरा कालिञ्चोक गाउँपालिका ९ का स्थानीयले नै बनाएका हुन्। कुरी बजारबाट उकालो लागेपछि शुरु हुने घ्याङडाँडाका सडक वरीपरी २ सय ओटा भन्दा बढी घडेरीहरु भाग लगाइएको छ। केही माटो खारेर घर बनाउन तयार पारिएको छ। अधिकांशमा काठका किलाहरु गाडेर घडेरी भाग लगाइएको छ। यस्तै ढुङगा गाडेर र कोदालोले खनेर सिमा छुट्याइएको छ। यो क्षेत्रमा कालिञ्चोक गाउँपालिकाकै साविकका लापिलाङ र कालिञ्चोक गाविस बासीले अतिक्रमण गरेका हुन्। शनिबार घ्याङडाँडामा भेटिएका एक स्थानियका अनुसार दुई महिना अघि यहाँ घडेरी भाग लगाउन ति गाउँबाट करिब २ सय जना जति मानिसहरु भेला भएका थिए।
कालिञ्चोक भगवतीको मन्दिर रहेको टाकुरा क्षेत्रमा समेत अतिक्रमण उस्तै छ। व्यक्तिहरुले धमाधम कटेरा बनाइरहेका छन्।
सरकारी निकाय बिच नै विवाद
पर्यटकीय क्षेत्र कालिञ्चोक आफ्नो भएको दाबी गर्दै दुई ओटा सरकारी निकाय लामो समय देखी लड्दै आएका छन्। कालिञ्चोक क्षेत्रमा रहेका ८ ओटा खर्कलाई प्राचिन नगरी दोलखा बजारको जात्रा पर्व चलाउनका निम्ति कालिञ्चोक भगवती, त्रिपुरा सुन्दरी भीमेश्वर गुठी अन्तर्गत राखिएको १८८६ बैशाख १४ गतेको लालमोहरलाई आधार मान्दै गुठी संस्थानले कालिञ्चोक क्षेत्र आफ्नो भएकाले नापी हुनुपर्ने भन्दै दाबी गर्दै आएको छ। यस्तै वन मन्त्रालयले उक्त जग्गाहरु खर्क भएकाले खर्क ऐन २०३४ अनुसार सबै खर्कहरु राष्ट्रियकरण भइसकेकाले कालिञ्चोक क्षेत्र बन अन्तर्गत रहेको दाबी गर्दै आएको छ। गुठी संस्थानले गुठी अन्तर्गत नाप नक्सा गर्न पटक–पटक प्रयास गरेपनि बन कार्यालयको बिमती र अवरोधकै कारण यो क्षेत्रको नाप नक्सा हुन सकेको छैन्।
गाउँपालिकाको आफ्नै दाबी
कालिञ्चोक क्षेत्र आफ्नो सरकार अन्तर्गत व्यवस्थापन गरेर चलाउन पाउनुपर्ने दाबी गाउँपालिकाको छ। ‘हो त्यहाँ अत्याधिक अतिक्रमण बढेको छ,’ गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले भने, ‘यो बढ्नुको सबै कारण जिल्ला प्रशासन र गुठी समिति हो।’ उनले सिडिओको अध्यक्ष्यतामा रहेको गुठी समितिले कुरी बजारका ४० घरलाई अवैधानिक रुपमा रसिद काटन दिएर सम्झौता गरेका कारण अतिक्रमण बढेको आरोप लगाए। ‘नाप नक्सा केही नभएको जग्गालाई सिधै सम्झौता गरेर बैधानिकता दिन खोजेका कारण वरपरका अन्य बासिन्दा पनि धमाधम आउन थाले’ उनले भने।
अध्यक्ष थामीले कालिञ्चोक मन्दिरको संरक्षण र त्यस क्षेत्रको ब्यवस्थापनको जिम्मा गाउँपालिकाले लिने बताए। ‘यहाँ कुनै समिति भनेर हुदैन’, उनले भने, ‘संघीय सरकारले यस पटक त्यहाँको गुरुयोजना निर्माणका लागी २० लाख रुपैंया बजेट विनियोजन गरेको छ सोही अनुसार गुरुयोजना बनाएर व्यवस्थापन गर्छौ र अतिक्रमण रोक्छौं।’ उनले नियमानुसार जर्बजस्ती अतिक्रमण गरेको पाइए हटाइने बताए।
गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले कालिञ्चोकमा अतिक्रमण बढेको देखेर दुःख लागेको सुनाइन्। ‘आफैमा सुन्दर रहेको पर्यटकीय क्षेत्रको अतिक्रमणले दुखित बनाएको छ’, उनले भनिन्, ‘अतिक्रमण भएका भागहरु खाली गराउन छिट्टै पहलकदमी लिनेछौं।’
अतिक्रमण रोक्ने सिडिओकै निर्णय कार्यान्वयन हुँदैनन्
प्रमुख जिल्ला अधिकारीको अध्यक्ष्यतामा रहेको कालिञ्चोक, त्रिपुरा सुन्दरी भीमेश्वर गुठीमा जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, सेनाका अधिकारी, जिल्ला वन अधिकृत, नापी र गौरीशंकर संरक्षण क्षेत्रका प्रमुख गाउँपालिकाका प्रतिनिधि सदस्य साथै मालपोत कार्यालयका प्रमुख सदस्य सचिव हुन्छन्।
यो समितिले कालिञ्चोकको अतिक्रमण हटाउने भनेर पटक–पटक गरेको निर्णय कार्यान्वयन भएको देखिदैन्। दोलखाका वर्तमान प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जिम्मेवारी सम्हालेर आए यता बसेको यो गुठी समितिका दुई ओटा बैठक मध्ये गत जेठ २३ गतेको समिति बैठकले कालिञ्चोक क्षेत्रमा बसोबास गर्दै आएकाहरु कुन प्रमाणको आधारमा बसेका हुन्, सो को प्रमाण संकलन गर्ने र अतिक्रमण भए हटाउने निर्णय गरेको थियो। तर उक्त निर्णय कार्यान्वयन नै भएन्।
यस अघि तत्कालिन प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले समिति बैठक मार्फत कालिञ्चोकको अतिक्रमणका बारेमा अध्ययन गर्न मालपोत अधिकृतको नेतृत्वमा ७ सदस्यिय समिति गठन गरेका थिए। मालपोत अधिकृत अर्जुन पोखरेलको संयोजकत्वमा गठित उक्त समितिले जग्गा कुन सरकारी निकायको हो भनेर नापी नक्सा भई छुट्टीएर नआउञ्जेलसम्मको अवधीका निम्ति ४० घरलाई व्यवस्थापन गरेर राख्न र ति बाहेकका अन्य संरचना हटाउनु भनी प्रतिवेदन दिएको थियो। पछि प्रहरी परिचालन गरेर अतिक्रमण हटाउने लिखित निर्णय भएपनि त्यो समेत कार्यान्वयन हुन सकेन्। यस अघिका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले समेत वर्ष दिन अघि पुसमा अतिक्रमण हटाउने निर्णय गराएका थिए।
प्रमुख जिल्ला अधिकारी पाठकले आफ्नो अध्यक्ष्यतामा रहेको समितिको म्याद सकिएकाले नयाँ म्याद थप गर्न गृह मन्त्रालयको सहमती सहित अन्य प्रक्रियाका कारण अतिक्रमण रोक्ने बिषयमा निर्णय लिन ढिला भएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी पाठक अतिक्रमण रोक्ने बिषयमा अनुगमन गर्न शुक्रबार कालिञ्चोक पुगेका छन्।