समाज

प्रत्येक वडामा प्रसूति–प्रतीक्षा घर

धादिङ - जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटारमा सुविधासम्पन्न अस्पताल भवन निर्माण गरिएको छ। प्रत्येक स्थानीय तहमा १५ शड्ढयाको अस्पताल भवन निर्माण गर्ने सरकारको लक्ष्यअनुरूप भवन निर्माण गरी सेवा सुरु गरिएको हो। ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। अस्पताल भवन नेपाल सरकारको चार करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको छ।

प्रत्येक स्थानीय तहमा अनिवार्य १५ शड्ढयाको अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुरूप नयाँ अस्पताल भवनको निर्माण गरिएको हो। प्राथमिक स्वास्थ्य केन्द्रको सुविधासम्पन्न भवनबाट सेवा प्रदान गर्न थालिएपछि सामान्य बिरामी हुँदा र चोटपटक लाग्दासमेत सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारका रामबहादुर दराईले बताए । ‘गाउँगाउँमा सुविधासहितको अस्पताल भवन निर्माण भएपछि खुसी छौं,’ उनले भने, ‘अस्पताल नहँुदा कतिपयले अकालमै ज्यानसमेत गुमाउनु परेको थियो।’

अस्पतालमा दैनिक ५० देखि ७० जनासम्म बिरामी ओपिडी सेवा र २० देखि २५ जना आकस्मिक सेवा लिन आउने गरेका छन्। अहिले १ जना स्थायीसहित ४ डाक्टर छन् भने १४ कर्मचारीले नियमित सेवा दिँदै आएका छन्। सदरमुकाममै रहेको जिल्ला अस्पतालमा एक्सरे मेसिनलगायत स्वास्थ्यकर्मी नहुँदा समस्या भइरहेका बेला ग्रामीण क्षेत्रमा अस्पताल निर्माण हुँदा आफूहरू खुसी भएको दराईको भनाइ छ । ‘आर्थिक अवस्था कमजोर र भौगोलिक हिसाबले टाढाका बिरामीलाई समयमै उपचार सम्भव हुँदैनथ्यो,’ दराइले भने, ‘अब सबै नागरिकले स्वास्थ्य सेवा सजिलैसँग पाउने आशा पलाएको छ।’

सीमान्तकृत दराई जाति तथा दलित बस्ती रहेको सल्यानटारमा अस्पताल भवन निर्माणपछि स्थानीय स्वास्थ्य सेवा सरल र सुलभ तरिकाले लिन पाउने भएका छन्। विकट क्षेत्रका मानिस सेवा लिन सदरमुकाम या राजधानी नै धाउनुपर्ने बाध्यता हटेको गाउँपालिका उपाध्यक्ष देवी पाण्डे बुर्लाकोटीले बताए । ‘कतिपय बस्ती विकट स्थानमा रहेका कारण सुविधासम्पन्न ठाउँमा स्वास्थ्य उपचार लिन जान समस्या हुने गरेको थियो,’ उनले भनिन्, ‘अब धेरै रोगको उपचार यसै अस्पतालमा लिन पाउँदा स्थानीयलाई सहज हुने भएको छ।’

उत्तरी धादिङलगायत गोरखा जिल्लाबाट समेत मानिस उपचारका लागि यहाँ आउने गरेका छन् । सुरुमा सल्यानटार प्रथामिक स्वास्थ्य केन्द्रका रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको यो स्वास्थ्य संस्थाको स्तरोन्नति गरी १५ शड्ढयाको अस्पताल निर्माण गरिएको हो । अस्पताल निर्माणका लागि प्रदेश सरकारबाट समेत बजेट प्रदान गरिएको थियो । प्रत्येक वर्ष ३० देखि ४० हजार बिरामीलाई यस स्वास्थ्य केन्द्रले सेवा दिँदै आएको अस्पतालका डाक्टर ढुण्डीराज पौडेलले बताए ।

अस्पतालले पहिलेको सुविधामा स्तरोन्नति गर्दै प्रयोगशाला, एक्सरे, प्रसूति सेवालगायत सञ्चालन गरिरहेको छ। अस्पतालले केही महिनापछि रेबिजविरुद्धको भ्याक्सिन सेवा, दमको उपचार पनि यहीँबाट सञ्चालन गर्ने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष शम्भुकुमार थापाले बताए । ‘पुरानो भवन भूकम्पले भत्काएपछि सेवा दिन साह्रै गाह्रो भएको थियो,’ उनले भने, ‘स्वास्थ्य सेवा नपाएर कोहीलाई पनि अकालमै ज्यान गुमाउनु नपरोस् भनेर अस्पताल निर्माण गरेका हाैं।’

भौतिक पूर्वाधार तथा स्वास्थ्यकर्मी अभावलगायतका समस्याले ग्रामीण क्षेत्रका मासिनले सजिलैसँग स्वास्थ्य उपचार पाउन सकेका छैनन् । निःशुल्क वितरण हुने औषधि पनि पैसा तिरेर समेत पाउन नसकिरहेको अवस्थामा सुविधासम्पन्न भवन निर्माण हुँदा स्थानीयलाई सहज भएको छ । भवन निर्माणपछि स्वास्थ्य सेवा दिन थप सहज भएको अध्यक्ष थापाले बताए । ‘टेन्ट र चर्केको भवनबाट प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरेका थियौं,’ थापाले भने, ‘अब नयाँ भवनबाट अस्पतालको सेवा सुरु भएको छ ।’ अस्पताललाई व्यवस्थित गरी अन्य सेवा पनि प्रदान गरिने थापाले बताए।

प्रत्येक वडामा ‘प्रसूति–प्रतीक्षा घर’
गाउँपालिकाले प्रत्येक वडाको प्राथमिक स्वास्थ्य केन्द्रमा ‘प्रसूति–प्रतीक्षा घर’ सञ्चालन गरेको छ । गर्भवती महिलाको स्वास्थ्य र सुरक्षाका लागि गाउँपालिकाले आफ्नै खर्चमा सञ्चालन गरेको घरमा चिकित्सकले बच्चा जन्मने अनुमानित मिति तोकिदिएका महिलालाई राख्ने गरिन्छ । उनीहरूले स्वास्थ्य संस्थामै बच्चा जन्माउने गर्दछन् । बच्चा जन्माउने बेलामा महिलाले भोग्नेगरेका दुःख कष्ट र समस्यालाई समाधान गराउने पहलस्वरूप गाउँपालिका आफैंले प्रसूति–प्रतीक्षा घर सञ्चालन गरेको हो।

बच्चा जन्माउनुअघि आएर बस्ने महिलाको खानेबस्नेलगायतका सम्पूर्ण खर्च गाउँपालिकाले नै बेहोर्ने गरेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । ‘गर्भवती महिलाका लागि सबैभन्दा ठूलो चुनौती भनेको बच्चालाई स्वस्थ र सुरक्षित जन्म दिनु हो’, उनले भने, ‘आमा र बच्चाको सुरक्षा र घरमा हुने सुत्केरी शून्य बनाउनका लागि प्रतीक्षा घर सञ्चालन गरेका हौं ।’ सुत्केरी भएबापत दिइने सेवामा गाउँपालिकाले १ हजार रकम थप समेत गर्ने गरेको थापाले बताए।

प्रकाशित: २६ आश्विन २०७५ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App