समाज

बेवारिसे शिशुले पाए अभिभावक

ताप्लेजुङ - ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ८ थामखर्क जंगलबीचको गोठमा बेवारिसे अवस्थामा भेटिएका शिशुलाई विहीबार अभिभावकत्व प्रदान गरिएकाे छ। जिल्ला बाल कल्याण समितिको निर्णय अनुसार निमित्त जिल्ला स्वास्थ्य प्रमुख डाक्टर सचिन यादवले शिशुलाई अभिभावकको जिम्मा दिएका छन्। वाल कल्याण समितिकाे विहीबारै बसेकाे आकस्मिक बैठकले शिशुको अभिभावकत्व प्राप्तीका लागि आबेदन दिएका ६ जना मध्ये फुङ्लिङ नगरपालिका वडा नम्बर ८ (साविक दोखु ७) का सन्तकुमार र देवीमाया गुरुङ दम्पतिलाई शिशुको अस्थायी अभिभावकत्व प्रदान गर्ने निर्णय गरेको थियो।

जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले शिशु प्राप्तीका लागि प्राप्त भएका आबेदनहरुको प्रारम्भिक अध्यनले सन्तकुमार दम्पतिलाई शिशुको अभिभावकत्व प्रदान गर्न सकिने विश्वासिलाे आधारहरु देखाएकोले अस्थायी रुपमा शिशु हस्तान्तरण गरिएको जानकारी दिए। २० गते फेला परेका शिशु अस्पतालका स्वास्थ्यकर्मी, सुरक्षार्थ खटिएका प्रहरी र कर्मचारीको साथमा रहेकाे थियाे। चिसो समय सुरु भएको अवस्थामा शिशुलाई न्यानो ठाउँमा राख्न उपयुक्त हुने चिकित्सकीय सल्लाह अनुसार बाल कल्याण समितिको आकस्मिक बैठक मार्फत यो निर्णय गरिएकाे प्रजिअ भण्डारीले बताए।

प्रकाशित: २५ आश्विन २०७५ १०:३१ बिहीबार

ताप्लेजुङ बेवारिसे_शिशु